Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानले सन् २०११ को विनाशकारी भूकम्प, सुनामी र फुकुशिमा आणविक संकटको १५ औँ स्मृति दिवस बुधबार मनाएको छ । १५ वर्षअघि मार्च ११ का दिन २:४६ बजे गएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीले जापानको उत्तर-पूर्वी क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको थियो ।

देशभरका नागरिकले भूकम्प गएकै समय (दिउँसो २:४६ बजे) मा मौनधारण गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । यो ‘त्रि-आयामी’ विपद्मा परी २२ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । सरकारी तथ्यांकअनुसार १५,९०१ जनाको मृत्यु पुष्टि भइसकेको छ भने २,५१९ जना अझै बेपत्ता छन् ।

फुकुशिमामा आयोजित स्मृति सभामा सहभागी हुँदै प्रधानमन्त्री सानाए ताकाइचीले पुनर्निर्माणका बाँकी कामहरू आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए । ‘हामीले ती अमूल्य पाठहरू र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ र आगामी पुस्तालाई विपद् व्यवस्थापनका पाठहरू हस्तान्तरण गर्नेछौँ,’ उनले भने ।विपद्को १५ वर्ष बितिसक्दा पनि पीडितहरूको पीडा कम भएको छैन। सुनामीमा ८४ जना विद्यार्थी र शिक्षक गुमाएको ओकावा प्राथमिक विद्यालयको भग्नावशेषमा पुगेर अभिभावकहरूले आँसु झारे । आफ्नी ११ वर्षीया छोरी गुमाएका ६१ वर्षीय ताकाहिरो सितोले भग्नावशेषलाई स्मारकका रूपमा जोगाउनु आफ्नो कर्तव्य भएको बताए ताकि भावी पुस्ताले यसबाट पाठ सिकून् ।

यता, फुकुशिमा आणविक केन्द्रको विसर्जन प्रक्रिया अझै चुनौतीपूर्ण बनेको छ । टोकियो इलेक्ट्रिक पावर कम्पनीले सन् २०५१ सम्ममा प्लान्ट पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखे पनि भग्नावशेषभित्र रहेको रेडियोधर्मी इन्धन निकाल्ने कार्य सन् २०३७ सम्मका लागि सरेको छ । आणविक विकिरणका कारण विस्थापित भएका करिब २६ हजार मानिस अझै पनि आफ्नो घर फर्कन सकेका छैनन् ।

प्रकृतिको त्यो भयानक ताण्डवपछि जापानले पुनर्निर्माणमा ठुलो प्रगति गरे पनि हराइरहेकाहरूको खोजी र प्रभावितहरूको मानसिक पुनस्र्थापना अझै पूर्ण हुन सकेको छैन । १५ वर्ष पुग्दा पनि कैयौँ परिवार आफ्ना प्रियजनको अवशेष भेटिने आशमा समुद्रको किनारमा टोलाइरहेका भेटिन्छन् ।

 

तपाईको प्रतिक्रिया