समाचार सुन्नुहोस :
काठमाडौँ – नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभाहलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले उनीहरूलाई शपथ गराएका हुन्। गत माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ पदका लागि निर्वाचन भएको थियो। सोही निर्वाचनबाट विजयी सदस्यहरूले औपचारिक रूपमा शपथ लिएका हुन्।
निर्वाचन परिणामअनुसार कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका थिए। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर विजयी भएका छन्। त्यस्तै बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरेले जित हासिल गरेका थिए।
यसैगरी कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।








