समाचार सुन्नुहोस :
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुशासन कायम राख्दै सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षा बैठकपछि सरकारी सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक व्यवस्थाको आधार नै निर्वाचन सुशासन भएकाले यसपालि त्यो कायम भएको बताए।
गृहमन्त्री अर्यालका अनुसार वर्तमान सरकार फागुन २१ गते हुने निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ गठन भएको थियो। सोही लक्ष्यअनुसार स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारले पूरा गरेको उनले उल्लेख गरे। उनले यसपटकको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गर्दै भने, “हिंसाजन्य घटना बिना निर्वाचन सम्पन्न भएको छ। मजबुत सुरक्षा व्यवस्थाबीच सरकार आफ्नो दायित्व पूरा गर्न सफल भयो। अरूका नाममा मतदान गर्ने जस्ता अनियमितता पनि देखिएन।”
उनका अनुसार समयमा निर्वाचन गराउन सरकारका विभिन्न निकायले आपसी समन्वयमा काम गरेका थिए। गृह मन्त्रालयले सामूहिक नेतृत्वको अभ्यास गर्दै केन्द्रदेखि प्रदेश र वडा तहसम्म एकीकृत सुरक्षा योजना लागू गरेर निर्वाचन व्यवस्थापन गरिएको उनले बताए।निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि बढाउन नेतृत्वदायी भूमिका खेलेको भन्दै गृहमन्त्री अर्यालले निर्वाचन आयोगप्रति धन्यवाद पनि व्यक्त गरे।








