काठमाडौं – मुलुकभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक अग्रता लिँदै पुराना स्थापित दलहरूलाई पूर्णतः किनारा लगाएको छ । पछिल्लो प्राप्त आधिकारिक नतिजा र रुझान अनुसार, रास्वपाले ९० निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै मुलुकको राजनीतिमा नयाँ युगको संकेत गरेको छ ।
निर्वाचन आयोगको ताजा तथ्याङ्क अनुसार, रास्वपाका उम्मेदवारहरू ८९ क्षेत्रमा फराकिलो मतान्तरले अगाडि छन् भने एक क्षेत्रमा विजय हासिल गरिसकेका छन् । यससँगै रास्वपाको पोल्टामा कुल ९० सिट सुनिश्चित हुने देखिएको छ ।
दशकौंदेखि सत्ता र सदनको नेतृत्व गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेको अवस्था यसपटक निकै कमजोर देखिएको छ । नेपाली कांग्रेस केवल ९ क्षेत्रमा अग्रता र १ क्षेत्रमा जित निकालेकाे छ । नेकपा एमालेको अवस्था अझै नाजुक छ; उसले हालसम्म कुनै पनि सिटमा जित निकाल्न सकेको छैन भने केवल ७ क्षेत्रमा मात्र अग्रता कायम गरेको छ ।
वामपन्थी कित्तामा नेकपा (तारा चिह्न) ९ क्षेत्रमा अग्रता लिँदै कांग्रेस र एमालेको हाराहारीमा देखिएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ क्षेत्रमा आफ्नो अग्रता जोगाउन सफल भएको छ भने एकजना स्वतन्त्र उम्मेदवार पनि अग्रताको सूचीमा अटाएका छन् । श्रम संस्कृति पार्टी र अन्य साना दलहरूको खाता भने अझै खुल्न सकेको छैन ।








