काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको कार्यशैली र नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै नेता शाहले प्रधानमन्त्री कार्कीको अभिभावकीय भूमिकाले मुलुकमा लोकतन्त्रलाई थप मजबुत बनाएको उल्लेख गरेका हुन् ।
सरकारले हालै सम्पन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएको सन्दर्भलाई जोड्दै शाहले प्रधानमन्त्रीप्रति सम्मान प्रकट गरेका हुन् । उनले आफ्नो फेसबुक स्टाटसमा प्रधानमन्त्रीलाई ‘आमा’ को सम्बोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा ।’
मुलुकमा असहज परिस्थितिका बाबजुद पनि निष्पक्ष र सफलतापूर्वक निर्वाचन सम्पन्न हुनुलाई शाहले लोकतन्त्रको विजयका रूपमा चित्रण गरेका छन् । पछिल्लो समय राजनीतिक वृत्तमा प्रखर टिप्पणीका कारण चर्चामा रहने शाहको यो सकारात्मक प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।








