Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको एक निजी अन्तरिक्ष कम्पनी ‘स्पेस वान’ ले बिहीबार गरेको रकेट प्रक्षेपण उडान भरेको केही मिनेटमै असफल भएको छ । पश्चिमी जापानको वाकायामास्थित ‘स्पेस पोर्ट की’ बाट प्रक्षेपण गरिएको ‘काइरोस-३’ रकेटमा प्राविधिक समस्या आएपछि उडान रद्द गरिएको हो ।

कम्पनीका अनुसार, १८ मिटर लामो र २३ टन वजनको उक्त ठोस इन्धनयुक्त रकेटले उडान भरेको ६८ सेकेन्डपछि करिब ३० किलोमिटरको उचाइमा पुग्दा आफ्नो गति गुमाएको थियो । रकेटमा जडान गरिएको ‘अटोनोमस फ्लाइट टर्मिनेसन सिस्टम’ (स्वचालित उडान अन्त्य प्रणाली) का कारण रकेट आफैँ नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्पेस वानका अध्यक्ष मासाकाजु टोयोडाले पत्रकार सम्मेलनमार्फत भू-उपग्रहलाई सफलतापूर्वक कक्षमा स्थापित गर्न नसकेकोमा क्षमायाचना गरेका छन् । ‘हामी लक्ष्यमा पुग्न सकेनौँ, तर हाम्रा प्रयासहरू रोकिने छैनन्,’ टोयोडाले भने । कम्पनीले सन् २०३० को दशकसम्ममा वार्षिक ३० वटा मिसन सञ्चालन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।

यस रकेटले ताइवान स्पेस एजेन्सी र अन्य जापानी स्टार्ट-अपका पाँचवटा भू-उपग्रह बोकेको थियो । प्रक्षेपण असफल भए पनि खसेका भग्नावशेषबाट कुनै मानवीय वा भौतिक क्षति नभएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

जापानको निजी क्षेत्रबाट भू-उपग्रह अन्तरिक्षमा पुऱ्याउने पहिलो संस्था बन्ने लक्ष्य राखेको ‘स्पेस वान’ को यो तेस्रो असफलता हो । यसअघि सन् २०२४ को मार्चमा गरिएको पहिलो रकेट विष्फोट भएको थियो भने दोस्रो प्रक्षेपण पनि सफल हुन सकेको थिएन । सन् २०१८ मा क्यानन इलेक्ट्रोनिक्स र आईएचआई एरोस्पेस लगायतका कम्पनीहरूको लगानीमा स्थापना भएको यस स्टार्ट-अपले सस्तो र नियमित अन्तरिक्ष सेवा दिने उद्देश्य राखेको छ ।

तपाईको प्रतिक्रिया