समाचार सुन्नुहोस :
काठमाडौँ – निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जनाएको छ। केही स्थानमा सामान्य घटनाबाहेक समग्र मतदान प्रक्रिया सहज रूपमा अघि बढेको समितिको भनाइ छ।
निर्वाचनको प्रारम्भिक अनुगमनपछि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले निर्वाचन व्यवस्थापन तथा मतदाताको व्यवहारमा विगतको तुलनामा उल्लेखनीय सुधार देखिएको निष्कर्ष सार्वजनिक गरेको हो। समितिका अनुसार यस पटक मतदान प्रक्रियामा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकसहित विभिन्न वर्ग र समुदायका मतदाताको सहभागिता उत्साहजनक देखिएको छ।
पर्यवेक्षणका क्रममा अघिल्ला चुनावको तुलनामा राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित र सहकार्यपूर्ण देखिएको जनाइएको छ। धेरैजसो मतदान केन्द्रमा कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण कायम रहेको पाइएको समितिले जनाएको छ।
जिओकले ३६ जिल्लाका २५० पालिकामा राष्ट्रिय तथा जिल्लास्तरका गरी ४०० पर्यवेक्षक परिचालन गरेको थियो। प्रारम्भिक प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रहरू बिहान ७ बजेदेखि नै तोकिएको समयमै सञ्चालनमा आएका थिए।








