काठमाडौं – गत भदौ २३-२४ गतेको ‘जेनजी’ आन्दोलनपछिको बदलिएको विशेष राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको नयाँ नेतृत्व चयनका लागि मुलुकभर मतदान सुरु भएको छ । नयाँ जनादेशमार्फत आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि चुन्न मतदाताहरू बिहानैदेखि उत्साहपूर्वक मतदान केन्द्रमा लामबद्ध भएका छन् । बिहान ७ बजदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो । यसअघि विसं २०७४ र २०७९ मा निर्वाचन सम्पन्न भएका थिए । आजको निर्वाचनले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभाको चयन गर्नेछ । निर्वाचन आयोगका अनुसार ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ र यो प्रक्रिया बेलुका ५ बजेसम्म जारी रहनेछ ।
यसपटक प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका ६१ निर्वाचन चिह्न चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ ३ हजार ४०६ उमेदवारहरू प्रतिस्पर्धामा छन्, जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य लिंगी उमेदवार रहेका छन् । त्यस्तै, समानुपातिकतर्फ ३ हजार १३५ उमेदवारको नामावली अन्तिम सूचीमा छ ।
मुलुकभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । यसबाहेक १ लाख ८६ हजार १४२ अस्थायी मतदाताले समेत आफ्नो मताधिकार प्रयोग गर्दै छन् । आयोगले निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रहरू तोकेको छ । अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूलाई सहज रूपमा मतदान गर्ने विशेष व्यवस्था मिलाइएको छ ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ३ लाख ४२ हजार सुरक्षाकर्मी परिचालित छन् । साथै, २ लाख १५ हजार कर्मचारी मतदान केन्द्रहरूमा खटिएका छन् ।
निर्वाचनको पारदर्शिताका लागि ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाका पर्यवेक्षकहरूले अनुगमन गरिरहेका छन् । आयोगले प्रत्यक्ष र समानुपातिकका लागि कुल ४ करोड २२ लाखभन्दा बढी मतपत्र मतदान केन्द्रहरूमा पुर्याइसकेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीले सन्देश जारी गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका छन् । आजको यो मतदानले आगामी पाँच वर्षका लागि देशको राजनीतिक दिशा र विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ ।








