Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा पछिल्लो दुई दशकमा विदेशी नागरिकको संख्या झण्डै दोब्बरले वृद्धि भए पनि उनीहरू पक्राउ पर्ने वा कानुनी कारबाहीमा पर्ने दरमा भने उल्लेख्य गिरावट आएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२१ देखि २०२५ सम्मको पाँच वर्षमा विदेशी नागरिक संलग्न रहेका अपराधका घटना २० वर्ष अघिको तुलनामा ४० प्रतिशतले घटेका छन् ।

प्रहरी तथ्यांकको विश्लेषण गर्दा सन् २०२१ देखि २०२५ सम्ममा कुल ५६ हजार ७०६ विदेशी नागरिकलाई प्रहरीले विभिन्न मुद्दामा कारबाही गरेको छ । यो सङ्ख्या सन् २००१ देखि २००५ को अवधिमा ९३ हजार ८९९ रहेको थियो । जापानका कुल ४७ प्रान्तमध्ये १४ वटामा यस्तो सङ्ख्या आधाले घटेको पाइएको छ ।

पछिल्लो समय जापानमा विदेशीहरूको बढ्दो सङ्ख्याले सार्वजनिक सुरक्षामा खलल पुर्‍याएको भन्दै सामाजिक सञ्जालमा ‘जेनोफोबिक’ (विदेशीप्रति द्वेष फैलाउने) पोस्टहरू बढिरहेका छन् । तर, सरकारी तथ्याङ्कले भने ती दाबीहरूलाई गलत सावित गरिदिएको छ । विगत २० वर्षमा जापानमा विदेशी बासिन्दाको सङ्ख्या २० लाख १० हजारबाट बढेर ३९ लाख ५० हजार पुगेको छ ।

जनसङ्ख्या झण्डै दोब्बर हुँदा पनि अपराधमा संलग्न हुनेहरूको अनुपात भने निकै तल झरेको छ । स्थायी बासिन्दा र अमेरिकी सैन्य कर्मचारी बाहेक अन्य विदेशी संलग्न भएका प्रवर्तनका घटनाहरू ४० वटा प्रान्तमा घटेका छन्।

तथ्यांक अनुसार नागानो प्रान्तमा सबैभन्दा बढी ७३.२ प्रतिशतले गिरावट आएको छ, जहाँ पहिला १ हजार ६७९ विदेशी कारबाहीमा परेकोमा अहिले ४५० मा झरेको छ । तोकुशिमा, एहिमे, वाकायामा र फुकुशिमा प्रान्तमा पनि यस्तो सङ्ख्या तीव्र रूपमा घटेको छ । सङ्ख्याका आधारमा टोकियोमा सबैभन्दा बढी २२ हजार ३४४, कानागावामा ३ हजार ३५८ र सिजुओकामा २ हजार २४१ ले कमी आएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीका एक वरिष्ठ अधिकारीले भने, ‘जापान प्रवेश गर्ने विदेशीहरूको सङ्ख्या बढ्दै गए पनि यसले सार्वजनिक सुरक्षामा नकारात्मक असर पारेको कुनै स्पष्ट प्रमाण देखिएको छैन । हामी राष्ट्रियतालाई वास्ता नगरी आवश्यक कानुनी कारबाही जारी राख्नेछौं ।’

सन् २०२५ को तथ्यांकलाई मात्र हेर्दा भने विदेशीहरू पक्राउ पर्ने सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढेर १२ हजार ७७७ पुगेको छ। यो लगातार तेस्रो वर्षको वृद्धि हो । विशेषज्ञहरूका अनुसार यो वृद्धि कोभिड-१९ महामारीका बेला न्यून रहेको अपराध दर पुरानै अवस्थामा फर्कने क्रम (रिबाउन्ड) मात्र हो । वार्षिक ३ लाखका दरले बढिरहेको विदेशी जनसङ्ख्याको तुलनामा यो वृद्धि निकै न्यून हो ।

जापानमा समग्र अपराधको अवस्था हेर्दा, जापानी नागरिकसहित सबैको संलग्नतामा हुने फौजदारी अपराधका घटनाहरू सन् १९५० को दशकमा वार्षिक ६ लाखन्दा बढी हुने गर्थे । सन् २००० को सुरुवाती वर्षहरूमा यो ३ लाखको हाराहारीमा झरेको थियो । पछिल्ला वर्षहरूमा सामुदायिक गस्ती, सुरक्षा क्यामेराको विस्तार र संगठित अपराध विरुद्धको कडा कारबाहीका कारण जापानमा कुल अपराध दर वार्षिक २ लाखको हाराहारीमा सीमित भएको छ ।

तपाईको प्रतिक्रिया