टोकियो – जापानको उत्तर-पूर्वी क्षेत्र यामागाता प्रान्तमा हिउँ पन्छाउने अनौठो र रोमाञ्चक प्रतियोगिता सम्पन्न भएको छ । ‘जिमेन्दासी’ (पहिलो वसन्तको खोजी) भनिने यो वार्षिक प्रतियोगिता ओकुरा गाउँको हिजिओरी जिल्लामा आयोजना गरिएको हो, जुन क्षेत्र अत्यधिक हिमपात र तातोपानीका कुवाहरूका लागि प्रसिद्ध छ ।
यस वर्षको प्रतियोगितामा टोकियो र कान्साई क्षेत्रसहित जापानका विभिन्न स्थानबाट ४४ टोलीका २२७ जना सहभागी थिए । सहभागीहरूले करिब २.२ मिटर बाक्लो हिउँको तह खनेर जमिन भेट्नुपर्ने चुनौती थियो । प्रतियोगिता यति कठिन र रोचक थियो कि हिउँ खन्दै जाँदा सहभागीहरू खाडलभित्र हराउँथे र बाहिरबाट देखिन समेत छाडेका थिए । खनेर निकालिएको माटोसहितको हिउँ निर्णायकलाई बुझाएपछि मात्रै विजेताको टुङ्गो लगाइएको थियो ।
यस वर्षको उपाधि स्थानीय युवा संस्था ‘हिजिओरी सेइनेन्दान’ले हात पारेको छ । विजयी टोलीलाई ट्रफीको रूपमा ‘स्वर्ण रङको बेल्चा’ प्रदान गरियो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘ओकुरा स्पोर्ट’ नामक गैरनाफामूलक संस्थाले यो कार्यक्रम आयोजना गर्दै आएको हो । संस्थाका निर्देशक कोया हिसायोशीले आगामी वर्षहरूमा पनि यसैगरी पर्यटकहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे । स्थानीय तातोपानीका कुवाहरूमा पर्यटक आकर्षित गर्न यो प्रतियोगिता एउटा उत्सवका रूपमा स्थापित भएको छ ।








