टोकियो – जापानको ओकायामा सहरमा आयोजित परम्परागत ‘नाङ्गो उत्सव’ (नेकेड फेस्टिभल) का क्रममा तीन जना पुरुष बेहोस भएका छन् । हजारौं पुरुषहरूले केवल ‘लंगौटी’को भरमा पवित्र काठको टुक्रा (तालिस्म्यान) प्राप्त गर्न गर्ने प्रतिस्पर्धाका क्रममा यो दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।
पश्चिमी जापानको सैदाइजी मन्दिरमा शनिबार राति आयोजित यस वार्षिक उत्सवमा सहभागी तीन पुरुष अचेत भेटिएका थिए । उनीहरूलाई कसरी चोट लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसबाहेक अन्य तीन जना पनि सामान्य घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
‘एयो’ नामले समेत चिनिने यो उत्सव जापानको मुरोमाची काल (सन् १३३६–१५७३) देखि चल्दै आएको ऐतिहासिक परम्परा हो । जापानका तीन सबैभन्दा ‘विचित्र’ उत्सवहरूमध्ये एक मानिने यस कार्यक्रममा हरेक वर्ष १० हजारको हाराहारीमा मानिसहरू सहभागी हुने गर्दछन् ।
के हुन्छ उत्सवमा ?
उत्सवमा सहभागी पुरुषहरूले परम्परागत सेतो लंगौटी (लोइनक्लोथ) मात्र लगाएका हुन्छन्। उनीहरू सुरुमा चिसो पानीले नुहाएर शरीर शुद्ध गरी मन्दिरको मुख्य हलमा भेला हुन्छन्। मध्यरातमा पुजारीले माथिबाट ४/२० सेन्टिमिटरका दुईवटा पवित्र काठका टुक्रा (सिङ्गी) भिडमा खसाउँछन्। उक्त काठको टुक्रा समात्न र सुरक्षित राख्न हजारौं पुरुषहरूबीच ठूलो घम्साघम्सी हुने गर्छ। जसले त्यो काठको टुक्रा हात पार्न सक्छ, उसलाई वर्षभरि सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ।
जोखिमपूर्ण परम्परा
अत्यधिक भिडभाड र घम्साघम्सीका कारण यस उत्सवमा हरेक वर्ष मानिसहरू घाइते हुने गरेका छन् । सन् २००७ मा यसै कार्यक्रमका क्रममा एक व्यक्तिको मृत्यु समेत भएको थियो । जोखिमपूर्ण भए तापनि यसको सांस्कृतिक महत्त्वका कारण जापान सरकारले सन् २०१६ मा यस उत्सवलाई ‘अमूर्त सांस्कृतिक सम्पदा’को रूपमा सूचीकृत गरेको थियो । यस वर्षको उत्सवमा पनि स्थानीय पर्यटन महासंघका अनुसार १० हजारभन्दा बढी मानिसहरूको उपस्थिति रहेको थियो ।








