Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको राजधानी टोकियोस्थित एक घरधनीलाई आफ्नो घर छोड्न दबाब दिने उद्देश्यले आगजनी गर्न लगाएको आरोपमा प्रहरीले एक घरजग्गा व्यवसायीलाई पक्राउ गरेको छ । टोकियो महानगरीय प्रहरी परिसरका अनुसार ३१ वर्षीय घरजग्गा कर्मचारी हिरोकी नाइतोले आफ्ना सहयोगीहरूमार्फत बस्तीमा श्रृङ्खलाबद्ध आगजनी गराएका थिए ।

गत सन् २०२५ को अक्टोबर र नोभेम्बर महिनामा सिनागावा वार्डको कोयामा जिल्लामा भएका आगजनीका घटनामा नाइतोको संलग्नता देखिएको हो । प्रहरीका अनुसार उक्त क्षेत्रमा ठूलो स्तरको सहरी पुनर्विकास आयोजना सुरु भएसँगै जग्गाको मूल्य निकै बढेको छ । नाइतोले जग्गा विकास कम्पनीको तर्फबाट स्थानीय जग्गाधनीहरूसँग खरिदका लागि वार्ता गर्ने जिम्मेवारी पाएका थिए । तर, केही स्थानीयले आफ्नो घर बेच्न अस्वीकार गरेपछि उनीहरूलाई त्रसित बनाएर घर खाली गराउन नाइतोले आगजनीको योजना बुनेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले नाइतोका साथै आगजनीमा प्रत्यक्ष संलग्न रहेका २६ देखि ३० वर्ष उमेर समूहका अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ । उनीहरूले अक्टोबर ३१ मा एक स्थानीयको घरको पर्खालमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए भने नोभेम्बर १८ मा नजिकैको अर्को खाली भवनमा आगजनी गरी क्षति पुर्‍याएका थिए । 

नजिकैको सीसीटीभी फुटेजका आधारमा संदिग्धहरू पक्राउ परेका हुन्। पक्राउ परेका अन्य व्यक्तिहरूले नाइतोको निर्देशनमा पैसा लिएर आगजनी गरेको स्वीकार गरिसकेका छन् । यी घटनाहरूमा हालसम्म कोही पनि घाइते भने भएका छैनन् । प्रहरीले यसलाई गम्भीर अपराध मान्दै थप अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया