टोकियो – जापानकी प्रधानमन्त्री सानाय ताकाइचीले मुलुकलाई ‘शक्तिशाली र समृद्ध’ बनाउन ठूला नीतिगत परिवर्तन गर्ने घोषणा गरेकी छिन् । गत फेब्रुअरी ८ को आम निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरी पुनः प्रधानमन्त्री निर्वाचित भएपछि शुक्रबार संसद्मा आफ्नो पहिलो नीतिगत सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।
प्रधानमन्त्री ताकाइचीले जापानमा लामो समयदेखि कायम रहेको ‘वित्तीय मितव्ययिता’को अभ्यास अन्त्य गर्ने घोषणा गरिन् । ‘मेरो क्याबिनेटले भविष्यका लागि अपर्याप्त लगानी गर्ने परम्परा तोड्नेछ,’ उनले भनिन्, ‘हामी आर्थिक वृद्धिको स्विचलाई तीव्र रूपमा दबाउनेछौँ ।’
महँगीको मारमा परेका नागरिकलाई राहत दिन उनले खाद्यान्न र पेय पदार्थमा लाग्ने ८ प्रतिशत ‘उपभोग कर’लाई दुई वर्षका लागि निलम्बन गर्ने योजना अघि सारेकी छिन् । यसका साथै सरकारले आयकर छुट र नगद अनुदानको व्यवस्था गरी लगानी र ज्याला वृद्धिको चक्र सिर्जना गर्ने लक्ष्य राखेको छ ।
सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै ताकाइचीले जापानको खुफिया र रक्षा क्षमतालाई आधुनिक बनाउने बताइन् । उनले वैदेशिक हस्तक्षेप रोक्न मन्त्रीस्तरीय समिति गठन गर्ने र हालको ‘क्याबिनेट इन्टेलिजेन्स एण्ड रिसर्च अफिस’ लाई राष्ट्रिय निकायमा स्तरोन्नति गर्ने घोषणा गरिन् । सम्बोधनका क्रममा उनले ताइवानमाथि हुनसक्ने आक्रमण र दक्षिण चीन सागरमा बढ्दो तनावप्रति संकेत गर्दै रक्षा नीतिलाई अझ मजबुत बनाउने उल्लेख गरिन् ।
परराष्ट्र नीतिका सम्बन्धमा उनले अमेरिकालाई जापानको मुख्य साझेदारका रूपमा चित्रण गरिन् । आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी द्विपक्षीय विश्वासको सम्बन्धलाई थप उचाइमा पुर्याउने उनको योजना छ । चीनसँग ‘रचनात्मक र स्थिर’ सम्बन्धको चाहना राखे तापनि दुर्लभ खनिज पदार्थको आयातमा चीनमाथिको निर्भरता घटाउन आपूर्ति शृङ्खलाको पुनर्संरचना गर्ने उनले बताइन् ।
प्रधानमन्त्रीले विदेशी नागरिकहरूको व्यवस्थापनका लागि ‘मर्यादित सहअस्तित्व’ को अवधारणा ल्याउँदै उनीहरूको असामान्य व्यवहारप्रति कडा कदम चाल्ने बताइन् । साथै, राष्ट्रिय सुरक्षाको विषय बनेको विदेशी नागरिकद्वारा हुने जग्गा खरिदलाई नियन्त्रण गर्न आगामी गृष्मकालसम्म नयाँ नियमहरू ल्याइने उनले जानकारी दिइन् । सत्तारुढ गठबन्धनको संसद्मा बलियो उपस्थिति रहे तापनि ताकाइचीले नीति कार्यान्वयनका लागि प्रतिपक्षसँग पनि सहकार्य गर्ने इच्छा व्यक्त गरेकी छिन् ।








