Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको टोकियो नजिकै रहेको चिबा प्रान्तले पर्यटक र आगन्तुकहरूका लागि नयाँ ‘आवास कर’ लागू गर्ने तयारी गरेको छ । चिबाका गभर्नर तोशिहितो कुमागाइले मंगलबार सार्वजनिक गरेको योजनाअनुसार, प्रान्तभित्रका होटल वा अन्य आवास गृहमा बस्ने प्रत्येक व्यक्तिले प्रतिरात १५० येन (करिब १ अमेरिकी डलर) कर तिर्नुपर्नेछ ।

यो नयाँ कर निजी आवाससहित प्रान्तका सबै प्रकारका पर्यटकीय बसाईमा लागू हुनेछ । तर, विद्यालयले आयोजना गर्ने शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरू र एक महिनाभन्दा बढी बस्ने व्यक्तिहरूलाई भने यो करबाट पूर्ण छुट दिइएको छ । विद्यालयका खेलकुद क्लब वा तालिम शिविरका लागि आउनेहरूले भने यो कर तिर्नुपर्नेछ ।

संकलित कुल करको एक तिहाइ रकम स्थानीय नगरपालिकाहरूलाई अनुदानको रूपमा वितरण गरिनेछ । सुरुमा यो रकम पर्यटन प्रवर्द्धनमा मात्र खर्च गर्ने भनिए पनि स्थानीय तहहरूको मागअनुसार अब यसलाई पर्यटकको चापका कारण सिर्जना हुने फोहोर व्यवस्थापन र अन्य पूर्वाधारका काममा पनि खर्च गर्न पाइनेछ ।

चिबाका केही नगरपालिकाहरूले प्रान्तीय करका अतिरिक्त आफ्नै छुट्टै ‘आवास कर’ लगाउने तयारी पनि गरेका छन् । उदाहरणका लागि, कामोगावा र तातेयामा शहरले १५० येन अतिरिक्त कर लगाएमा त्यहाँ बस्ने पर्यटकले कुल ३०० येनसम्म कर तिर्नुपर्ने हुन सक्छ ।

प्रान्तीय सभाबाट यो अध्यादेश पारित भएपछि कर संकलन प्रणाली परिमार्जन र सार्वजनिक सूचनाका लागि करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । जापानका ४७ मध्ये ७ प्रान्त र ४१ नगरपालिकाहरूले यसअघि नै यस्तो कर लागू गरिसकेका छन् वा सन् २०२६ सम्ममा लागू गर्ने योजना बनाएका छन् ।

तपाईको प्रतिक्रिया