
टोकियो – जापानको निर्यात जनवरी महिनामा उल्लेख्य रूपमा बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा निर्यात करिब १६.८ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य एसियाली देशहरूमा भएको मागले यसलाई थप बल दिएको बताइएको छ ।
जापानको वित्त मन्त्रालयका अनुसार जनवरीमा निर्यात ९.१९ ट्रिलियन येन (करिब ५९.८ अर्ब डलर) पुगेको छ । त्यस्तै, आयात भने २.५ प्रतिशतले घटेर १०.३ ट्रिलियन येन (करिब ६७ अर्ब डलर) मा सीमित भएको छ । यससँगै व्यापार घाटा १.१५ ट्रिलियन येन (करिब ७.५ अर्ब डलर) मा झरेको छ, जुन गत वर्षको तुलनामा आधाभन्दा कम हो ।
विश्लेषकहरूका अनुसार यस वर्ष लुनार नयाँ वर्ष ढिलो परेको कारण जनवरीमा निर्यात बढेको देखिएको हो । यो पर्व फेब्रुअरी १७ मा परेको थियो, जसका कारण व्यापारिक गतिविधिमा अस्थायी प्रभाव परेको बताइएको छ ।
निर्यातमा आधारित अर्थतन्त्र भएको जापानले हाल अमेरिकी नीतिका कारण पनि दबाब झेलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढाएका करले जापानी व्यापारमा असर परेको बताइएको छ ।
तथ्यांक अनुसार जापानको आर्थिक वृद्धिदर पछिल्लो त्रैमासिकमा मात्र ०.२ प्रतिशतमा सीमित रहेको छ भने सन् २०२५ का लागि कुल वृद्धिदर १.१ प्रतिशत रहने अनुमान गरिएको छ । निर्यात कमजोर हुँदा निजी उपभोगमा सामान्य सुधारले मात्रै अर्थतन्त्रलाई धानिरहेको छ ।
अमेरिकातर्फको निर्यात भने ०.५ प्रतिशतले घटेको छ भने त्यहाँबाट आयात ३ प्रतिशतले बढेको छ । विशेष गरी सवारी साधन निर्यात, जसले कुल निर्यातको करिब एक तिहाइ हिस्सा ओगटेको छ, करिब १० प्रतिशतले घटेको छ ।
यद्यपि चीनसँगको राजनीतिक तनावका बाबजुद पनि जापानको चीनतर्फको निर्यात ३२ प्रतिशतले बढेको छ । समग्र एसियातर्फको निर्यात पनि २६ प्रतिशतले बढेको देखिएको छ ।
यसैबीच सेमिकन्डक्टर तथा कम्प्युटर उपकरणहरूको आयात तीव्र रूपमा बढेको छ । एआईको बढ्दो प्रयोगका कारण डेटा सेन्टर र चिपको माग बढ्दै गएको यसको मुख्य कारण मानिएको छ ।
अक्सफोर्ड इकोनोमिक्सका विश्लेषक नोरिहिरो यामागुचीका अनुसार हाल देखिएको एआई सम्बन्धी अमेरिकी बजारको माग दीर्घकालीन नहुन सक्ने र आगामी महिनाहरूमा निर्यात वृद्धि सुस्त हुन सक्ने अनुमान गरिएको छ ।
उनका अनुसार आगामी महिनामा निर्यातको वृद्धिदर घट्ने सम्भावना उच्च रहेको छ ।








