
टोकियो – सानाय ताकाइची ६४ वर्षिय यी आइरन लेडीले राष्ट्रवादको यस्तो लहर सिर्जना गरिन् कि दोस्रो विश्वयुद्धपछि जापानमा कुनै पनि दलले नपाएको दुईतिहाई बहुमत उनले आनो पोल्टामा पारेकीछन् । तर यो जित सामान्य छैन, यसका पछाडि चीनसंगको चर्को विवाद, ताइवानको सुरक्षा र जापानको सैन्य शक्ति बढाउने एउटा ठूलो दाउ लुकेको छ । कसरी ताकाइचिको लोकप्रियता आकाशियो, चीनले किन उनलाई घाँटी छिनाउने धम्की दियो ? र अब ताकाइचिको यो जितले एशियाको शक्ति सन्तुलनमा कस्तो असर पार्ने छ ? त्यो भने हेर्दै जानुपर्नेछ ।
जापानको राजनीतिमा सन् १९५५ देखि एकछत्र राज गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) पछिल्ला वर्षहरुमा संकटमा थियो । सन् २०२४ को अक्टुबरमा भएको निर्वाचनमा यो दलले नराम्रो पराजय ब्यहोर्नुपर्यो । ४ सय ६५ सदस्य भएको तल्लो सदनमा सामान्य बहुमतका लागि चाहिने २ सय ३३ सिटको साटो यो दल १ सय ९८ सिटमा खुम्चिएको थियो । यस्तो कठिन समयमा गत अक्टुबर ४ मा पार्टीको नेतृत्व सम्हाल्न आईपुगेकी हुन् सानाय ताकाइची । उनले प्रधानमन्त्रीको कुर्ची सम्हालेको केही हप्तामै एउटा ठूलो राजनैतिक जुवा खेलिन् । जनवरी २३ मा उनले संसद विघटन गरिन् र मात्र १६ दिनको समय दिएर मध्यावधि निर्वाचनको घोषणा गरिन् । विपक्षीहरु अलमलमा परे, उनीहरुले तयारी गर्ने मौका नै पाएनन् । गत आइतबार भएको मध्यावधि निर्वाचनमा ताकाइचीको एलडीपीले एक्लै ३ सय १६ सिट जितेर दुईतिहाई बहुमत हासिल गरेको छ । दोस्रो विश्वयुद्धपछि जापानको इतिहासमा यो पहिलो पटक हो कि कुनै एउटा दलले यति ठूलो बहुमत ल्याएको छ । तर प्रश्न उठ्छ एउटा डुब्नै लागेको जहाज जस्तो बनेको पार्टीलाई ताकाइचीले कसरी यो ऐतिहासिक उचाईमा पुर्याईन् ? यसको मुख्य कारण हो, चीन विरोधी राष्ट्रबाद । ताकाइचीको जितको रहष्य बुझ्न हामीले इतिहासको पाना पल्टाउनैपर्छ । दोस्रो विश्वयुद्धका बेला साम्राज्यबादी जापानले चीन र एकीकृत कोरियामा कब्जा जमाएको थियो । त्यतिबेला जापानको क्रुर सैन्य गतिविधिले चीनमा गहिरो चोट छोडेको थियो । र सन् १९४५ मा अमेरिकाले आणविक बम प्रहार गरेपछि जापानले आत्म समर्पण गर्नुपर्यो । त्यसपछि अमेरिकाले जापानमाथि एउटा यस्तो शान्तिबादी संबिधान लागू गरिदियो जसले जापानलाई युद्ध गर्न मात्र हैन परम्परागत सेना राख्न समेत बन्देज लगायो । जापानको सुरक्षाको जिम्मा अमेरिकाले लियो र जापानी फौजलाई सेल्फ डिफेन्स फोर्समा सीमित गरिदियो । तर एक्काइसाैं शताब्दीमा समय फेरिएको छ । चीन अहिले आर्थिक र सैन्यरुपमा शक्तिशाली बनेको छ । उसले समुद्रका विभिन्न टापूहरुमा आफ्नो दाबी गर्दै जापानप्रति आक्रामक नीति लिएको छ ।

ताकाइचीले जापानी जनताको मनमा रहेको असुरक्षाको भावनालाई बुझिन् । उनले स्पष्ट भनिन्– यदि चीनले ताइवानमा नाकाबन्दी लगाउँछ भने जापानको अस्तित्व खतरामा पर्ने छ, यस्तो अवस्थामा जापान चुप लागेर बस्ने छैन । उनको यो एउटै भनाईले बेइजिङ्गमा हलचल मच्चायो । ओसाकामा रहेको चीनको कन्सल्ट जेनेरल स्युजिआनले त सामाजिक सञ्जालमा ताकाइचीको फोहोरी घाँटी छिनाउनेसम्मको धम्की दिए । जतिजति चीनले ताकाइचीलाई गाली गर्यो उति नै जापानी जनतामा ताकाइचीप्रतिको समर्थन बढ्दै गयो । जापानीहरुले उनलाई एक यस्तो निडर नेताको रुपमा हेरे जसले चीनको दादागिरीको अगाडि घुँडा टेकिनन् । यो विवादमा अमेरिका पनि तानियो, चीनिया राष्ट्रपती सि जिङ पिङले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पसंगको फोनवार्तामा ताकाइचीको टिप्पणीबारे गुनासो गरेका थिए । त्यसपछि ट्रम्पले ताकाइचीलाई फोन गरेर चीन बारे उग्र टिप्पणी नगर्न आग्रह गरे । तर रोचक कुरो के भयो भने ट्रम्पको यो आग्रहले जापानमा ताकाइचीलाई झन फाइदा पुग्यो । जापानी जनताले महशुस गरे कि ताकाइची आफ्नै सहयोगी देशको दबाबमा पनि झुक्दिनन् । पछि चुनावको केही दिन अगाडि मात्र ट्रम्पले पनि ताकाइचीको समर्थन गर्न बाध्य भए । यसले के देखाउँछ भने ताकाइचीले अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो एउटा बलियो स्थान बनाईसकेकी छिन् । चीन बिरोधी राष्ट्रबादसंगै उनले अर्को एउटा मुद्दालाई पनि बलियोसंग समातेकी छिन् । त्यो हो आप्रवासी विरोधी नीति । जापान अहिले न्युन जन्मदर र बूढ्यौलो जनसंख्याको समस्यासंग जुधिरहेको छ । काम गर्ने जनशक्तिको अभाव भए पनि ताकाइचीले पश्चिमा देशहरुमा जस्तो आप्रवासीहरुलाई खुल्ला प्रवेश दिनु हुँदैन भन्ने अडान राखेकी छिन् । यसले जापानको साँस्कृतिक पहिचान जोगाउन चाहने परम्पराबादी मतदाताहरुलाई आकर्षित गर्यो ।
सानाय ताकाइचीको ब्यक्तित्व आफैमा एउटा ठूलो चर्चाको विषय हो । उनी बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो आदर्श मान्छिन् । थ्याचरलाई आइरन लेडी भनिन्थ्यो । ताकाइची पनि त्यस्तै बन्न चाहन्छिन् । उनले सार्बजनिक कार्यक्रममा थ्याचरले जस्तै छालाको ठूलो झोला बोक्ने गर्छिन् । उनको कार्यशैली निकै कठोर छ । उनी दैनिक मुश्किलले २ देखि ४ घण्टा निदाउँछिन् । गत नोवेम्वरमा उनले एकाबिहानै ३ बजे बैठक राखेर आफ्ना कर्मचारीलाई अचम्ममा पारेकी थिईन् । कतिपयले यसलाई कर्मचारीमाथिको अत्याचारको संज्ञा दिए पनि धेरैलै यसलाई उनको कामप्रतिको निष्ठाकोरुपमा ब्याख्या गरे । राजनैतिकरुपमा ताकाइची कट्टर दक्षिणपन्थी र परम्पराबादी हुन् । जापान जस्तो आधुनिक देशमा पनि उनी महिला अधिकारसंग सम्बन्धित केही मुद्दाहरुमा बिमति राख्छिन् । उदाहरणका लागि जापानका बिबाहित जोडीले एउटै थर राख्नुपर्ने कानूनी प्रावधान छ । धेरै महिलाहरुले आफ्नै थर राख्नुपर्ने माग गरिहरेका छन् तर ताकाइची यसको विपक्षमा छिन् । त्यस्तै उनी राजाको छोरी राजगद्दीमा बस्न पाउनुपर्छ भन्ने मामिलामा पनि बिरोधमा छिन् । उनी भन्छिन्– ‘परम्परालाई भत्काउनु हुँदैन ।‘ उनको यो बिरोधासपूर्ण छबि छ, उनी देशको पहिलो महिला प्रधानमन्त्री त हुन् तर उनी उदारबादी महिला अधिकारको पक्षमा छैनन् । आर्थिक नीतिको कुरा गर्दा ताकाइची आफ्ना राजनीतिक गुरु शिन्जो आबेको लाइनमा छिन् । सन् २०१२ मा आबेले ल्याएको आबेनोमिक्सले जापानको अर्थतन्त्रलाई गति दिने प्रयास गरेको थियो । ताकाइचीले पनि त्यहि नीति अर्थात मौद्रिक बिस्तार, लचक वित्तिय नीति र संरचनागत सुधारलाई निरन्तरता दिने बताएकिछिन् । यद्यपी उनी मार्गरेट थ्याचरको जस्तो सानो सरकार र कम खर्चको पक्षमा भने छैनन् । उनी चाहन्छिन कि सरकारले अर्थतन्त्रमा माग बढाउन ठूलो लगानी गरोस् । झण्डै चार दशकदेखि सुस्ताएको जापानको आर्थिक बृद्धिलाई ताकाइचीले गति दिने अपेक्षा जापानी जनताहरुमा रहेको छ । ताकाइचीका लागि अबको बाटो सहज भने पक्कै छैन । तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेपछि अब उनले माथिल्लो सदनको अवरोधलाई पनि बेवास्ता गर्दै संबिधान संशोधन गर्ने हिम्मत गर्न सक्छिन् । यदि उनले जापानको शान्तिबादी संबिधान संशोधन गरेर एउटा पूर्णसैन्य शक्ति निर्माण गरिन् भने यसले विश्व राजनीतिमा ठूलो हलचल ल्याउने छ । के ताकाइचीको उदयसंगै जापान फेरि सैन्य शक्ति राष्ट्र बन्ला ? के उनको चीनप्रतिको आक्रामक नीतिले युद्ध निम्त्याउला ? कि शान्ति स्थापना गर्ला ? यो त समयले नै बताउने छ । तर एउटा कुरा भने पक्का छ, जापानमा सानाय ताकाइची युगको सुरुवात भने भईसकेको छ ।








