Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापान सरकारले मुलुकको गुप्तचरी र सूचना संकलन क्षमतालाई सुदृढ बनाउन पहिलो पटक ‘राष्ट्रिय गुप्तचर रणनीति’ तयार गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री सानाय ताकाइचीको मुलुकको सूचना संयन्त्रलाई शक्तिशाली बनाउने योजनाअन्तर्गत यो रणनीतिक कदम चाल्न लागिएको हो ।

मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यस विषयको पुष्टि गरेका हुन् । ‘जापानलाई सबै पक्षबाट बलियो र समृद्ध बनाउन सरकारले पर्याप्त सूचना संकलन गर्ने, त्यसको व्यापक विश्लेषण गर्ने र त्यसका आधारमा सही निर्णय लिनु अनिवार्य छ,’ किहाराले भने, ‘हामी राष्ट्रिय गुप्तचर रणनीतिको विकाससहित कुन-कुन उपायहरू प्रभावकारी हुन सक्छन् भन्नेबारे गम्भीर अध्ययन गरिरहेका छौँ ।’

यो रणनीति तयार भएमा जापानको इतिहासमै गुप्तचरीका लागि मात्र समर्पित यो पहिलो विशेष दस्ताबेज हुनेछ । हाल जापानको परराष्ट्र तथा सुरक्षा नीतिको सर्वोच्च मार्गदर्शक सिद्धान्तका रूपमा ‘राष्ट्रिय सुरक्षा रणनीति’ रहेको छ । उक्त रणनीतिले सूचना संकलन र विश्लेषण क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

सरकारी अधिकारीहरूका अनुसार, हालको राष्ट्रिय सुरक्षा रणनीतिमा समेटिएको गुप्तचरीसम्बन्धी खण्डलाई अलग गरी एक स्वतन्त्र दस्ताबेज निर्माण गर्ने सरकारको तयारी छ । यस नयाँ दस्ताबेजले गुप्तचर नीति, कार्यदिशा र सम्बन्धित संस्थाहरूको परिचालनका लागि स्पष्ट मार्गचित्र तय गर्ने विश्वास गरिएको छ ।

विश्वव्यापी भू-राजनीतिक परिवर्तन र सुरक्षा चुनौतीहरू बढ्दै जाँदा जापानले आफ्नो सूचना संयन्त्रलाई थप आधुनिक र व्यावसायिक बनाउन यो नयाँ रणनीति ल्याउन लागेको विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया