-
विश्वकै सुरक्षित मुलुक जापानमा ८० प्रतिशत नागरिकले गरे असुरक्षित महसुस
टोकियो – जापानमा पछिल्लो एक दशकको अवधिमा सार्वजनिक सुरक्षाको अवस्था खस्किएको महसुस गर्ने नागरिकहरूको संख्या करिब ८० प्रतिशत पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले हालै सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।
सर्वेक्षणअनुसार ७९ दशमलव ७ प्रतिशत उत्तरदाताले विगत १० वर्षमा जापानको सुरक्षा स्थिति कमजोर भएको बताएका छन् । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा ३ दशमलव १ प्रतिशतले बढी हो । सन् २०२१ मा यो प्रश्न पहिलोपटक सोधिएयता असुरक्षा महसुस गर्नेहरूको संख्या निरन्तर बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।
सुरक्षा अवस्था बिग्रनुको प्रमुख कारणका रूपमा ‘ओरे-ओरे सागी’ (म हुँ भन्दै नातेदार बनेर गरिने ठगी) जस्ता घटनाहरूलाई लिइएको छ । यसका साथै अनधिकृत पहुँचका कारण व्यक्तिगत विवरण चोरी हुने (डाटा ब्रिच) र ठूला कम्पनीहरूमाथि हुने साइबर आक्रमणका घटनाले नागरिकमा चिन्ता बढाएको पाइएको छ ।
प्रहरी अधिकारीको छद्म भेष धारण गरी गरिने ठगी र यस्ता घटनाहरूलाई सञ्चारमाध्यमले दिने उच्च प्राथमिकताका कारण पनि सर्वसाधारणमा असुरक्षाको भावना गहिरिएको सर्वेक्षणले विश्लेषण गरेको छ । एकातिर ठूलो हिस्साले असुरक्षा महसुस गरिरहेका बेला अर्कोतर्फ देशको सुरक्षा अवस्था ‘राम्रो’ रहेको मान्नेहरूको संख्यामा पनि सामान्य वृद्धि देखिएको छ । सर्वेक्षणमा सहभागी ६० दशमलव ३ प्रतिशतले जापानको सुरक्षा स्थिति अझै पनि सन्तोषजनक रहेको बताएका छन्, जुन अघिल्लो सर्वेक्षणको तुलनामा ३ दशमलव ९ प्रतिशतले बढी हो ।
विशेषगरी ‘तोकुरियु’ (अज्ञात र चलायमान आपराधिक समूह) विरुद्ध सरकारले चालेका कडा कदम र अन्य वैदेशिक मुलुकहरूको तुलनामा जापानको सुरक्षा स्थिति तुलनात्मक रूपमा राम्रो हुनुलाई यसको सकारात्मक पक्ष मानिएको छ ।
गत वर्षको अक्टोबरमा अनलाइनमार्फत गरिएको यस सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा माथिका ५ हजार नागरिकलाई सहभागी गराइएको थियो । जापान सरकारले जनमानसमा रहेको असुरक्षाको भावनालाई सम्बोधन गर्न र साइबर अपराध नियन्त्रण गर्न नयाँ रणनीतिहरू बनाउनु पर्ने चुनौती यस सर्वेक्षणले देखाएको छ ।








