टोकियो – जापानको प्रसिद्ध बुलेट ट्रेन (सिन्कान्सेन) मा अबदेखि यात्रुहरूले आपसमा सिट साटफेर गर्न नपाउने भएका छन् । रेल सञ्चालक कम्पनी ‘जेआर ग्रुप’ ले आफ्नो नियमनलाई थप स्पष्ट पार्दै आरक्षित सिटहरू केवल सम्बन्धित टिकटबाहकले मात्र प्रयोग गर्नुपर्ने जनाएको हो ।
विशेषगरी परिवार वा समूहमा यात्रा गर्नेहरूले सँगै बस्नका लागि अन्य यात्रुसँग सिट साट्न आग्रह गर्ने चलन बढेपछि कम्पनीले यस्तो स्पष्टीकरण दिएको हो । जेआर सेन्ट्रलका अनुसार ‘यात्रु व्यवसाय नियमावली’ मा आरक्षित सिट जुन व्यक्तिको नाममा छ, उसैले मात्र प्रयोग गर्न पाउने व्यवस्था छ ।
बुलेट ट्रेन एउटा स्टेशनबाट अर्को स्टेशनसम्म पुग्दा बीचका धेरै ठाउँमा रोकिन्छ । कुनै एक यात्रुले बीचैमा सिट छाडिदिँदा अर्को स्टेशनबाट सोही सिटका लागि आरक्षण गरेका नयाँ यात्रुलाई अन्योल र असुविधा हुने कम्पनीको तर्क छ । यसले गर्दा यात्रुहरूबीच अनावश्यक विवाद हुने र व्यवस्थापनमा समेत कठिनाइ हुने बताइएको छ ।
साथै, महँगो शुल्क पर्ने ‘रिजर्भ’ सिट र सस्तो ‘नन-रिजर्भ’ सिटबीचको साटफेरलाई पनि पूर्णतः रोक लगाइएको छ । यसो गर्दा टिकट चेकजाँच गर्ने कर्मचारीलाई समेत समस्या पर्ने र नियम विपरित हुने कम्पनीले उल्लेख गरेको छ।
जेआर ग्रुपले कुनै पनि यात्रुलाई आफ्नो सिट छोड्न नैतिक दबाब नदिन र कसैले त्यसो गरेमा तुरुन्त रेल कर्मचारीलाई खबर गर्न आग्रह गरेको छ । ‘सिट सुरक्षित गर्नु तपाईंको अधिकार हो, कसैको आग्रहमा सिट छोड्न तपाईं बाध्य हुनुहुन्न,’ कम्पनीले भनेको छ ।








