Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा सन् २०२५ मा प्रहरी अधिकृत तथा कर्मचारीमाथि गरिएको विभागीय कारबाहीको संख्या एक दशकयताकै उच्च पुगेको छ । राष्ट्रिय प्रहरी निकाय (एनपीए) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार, यस वर्ष नियम उल्लंघन र विभिन्न दुराचारमा संलग्न ३३७ जना प्रहरी कर्मचारीहरू कारबाहीको दायरामा आएका छन् । एनपीएका अनुसार यो संख्या सन् २०२४ को तुलनामा ९८ ले बढी हो ।

कारबाहीमा पर्नेहरूमध्ये युवा पुस्ताको संख्या उल्लेख्य रहेको छ । तथ्याङ्क अनुसार २० वर्ष वा सोभन्दा कम उमेरका ११३ जना (कुल संख्याको ३३.५ प्रतिशत) प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । यस्तै, ३० वर्ष उमेर समूहका ८१ जना, ४० वर्षका ७७ जना र ५० वर्षभन्दा माथिका ६६ जना रहेका छन् ।

युवा प्रहरी कर्मचारीहरूमा अनुशासनको कमी देखिनुलाई राष्ट्रिय प्रहरी निकायले ‘संकट’ को रूपमा लिएको छ । एनपीएले भनेको छ, ‘सन् २००० मा भएको प्रहरी सुधारको अभियान नदेखेको र अनुभव नगरेको युवा पुस्तामा अनुशासनको भावना कमजोर भएको महसुस हामीले गरेका छौँ ।’

प्रतिवेदनका अनुसार सबैभन्दा बढी कर्मचारीहरू यौन दुर्व्यवहार र ‘विपरित लिङ्गीसँगको अनुपयुक्त सम्बन्ध’का कारण कारबाहीमा परेका छन् । यस शीर्षकमा १०४ जनामाथि कारबाही भएको छ । अन्य प्रमुख कारणहरू निम्नानुसार छन्:-

  • चोरी, ठगी र हिनामिना: ६३ जना
  • कर्तव्यमा लापरवाही: ४४ जना
  • सवारी दुर्घटना तथा ट्राफिक नियम उल्लंघन: ४० जना
  • अनलाइन क्यासिनो प्रयोग: २२ जना (यसमा पनि युवाहरूको संख्या धेरै छ)

विभागीय कारबाहीमा परेका ३३७ जनामध्ये ४४ जनालाई सेवाबाट बर्खास्त गरिएको छ । ९७ जनालाई निलम्बन, १४४ जनाको तलब कटौती र ५२ जनालाई नसिहत (सचेत) दिइएको छ । क्षेत्रगत आधारमा हेर्दा, सबैभन्दा बढी ह्योगो प्रिफेक्चरल प्रहरीका ५० जना कर्मचारी कारबाहीमा परेका छन् । त्यसैगरी कानागावामा ३४, टोकियोको महानगर प्रहरी विभागमा ३० र ओसाका प्रिफेक्चरल प्रहरीमा २६ जनामाथि कारबाही भएको छ ।

तपाईको प्रतिक्रिया