टोकियो – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानको आम निर्वाचनमा सत्तारुढ दलले शानदार विजय हासिल गरेकोमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीलाई बधाई दिएका छन् । एक सन्देश जारी गर्दै ट्रम्पले केही दिनअघि मात्र आफूले ताकाइचीलाई दिएको समर्थनप्रति गर्व महसुस भएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचन गराउने ताकाइचीको निर्णयलाई साहसी र बुद्धिमानी भन्दै प्रशंसा गरेका थिए । ‘तपाईँको रूढीवादी र शक्तिको माध्यमबाट शान्तिको एजेन्डा सफल हुनेमा म पूर्ण विश्वस्त छु,’ ट्रम्पले लेखेका छन् ।
जापानको तल्लो सदनुहाउस अफ रिप्रिजेन्टेटिभ्समा ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले दुई–तिहाइ बहुमत प्राप्त गरेको छ । यो जित जापानको दोस्रो विश्वयुद्ध पछिको इतिहासमा सबैभन्दा ठूलो र प्रभावशाली मानिएको छ । निर्वाचनको परिणामपछि ट्रम्पले भने, ‘जापानका महान् जनताले जुन उत्साहका साथ मतदान गरेका छन्, उनीहरूलाई मेरो सधैँ बलियो समर्थन रहनेछ ।’








