Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको सानो पपुलिस्ट राजनीतिक दल ‘सान्सेइतो’ ले आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उपस्थिति उल्लेख्य रूपमा बलियो बनाएको छ । निर्वाचन अघि सो पार्टीसँग मात्र २ सिट रहेकोमा यस पटक छ गुणाभन्दा बढीले वृद्धि गर्दै १३ सिट जित्न सफल भएको छ ।

यद्यपि, पार्टीका अध्यक्ष सोहेई कामियाले भने चुनावी नतिजाप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छैनन् । ‘जापानी पहिलो’ भन्ने नाराका साथ विदेशी नागरिकहरूमाथि कडा नियन्त्रणको वकालत गर्दै आएको सान्सेइतोले गत वर्षको माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) को निर्वाचनदेखि नै चर्चा बटुल्न सुरु गरेको थियो । यस पटकको तल्लो सदनको निर्वाचनमा यो पार्टीले ३० भन्दा बढी सिट जित्ने लक्ष्य राखेको थियो ।

प्रधानमन्त्री सानाए ताकाइचीको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र नवगठित मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ पछि सबैभन्दा बढी उम्मेदवार उठाउनेमा सान्सेइतो तेस्रो स्थानमा थियो । यसले देशभरि १९० जना उम्मेदवार चुनावी मैदानमा उतारेको थियो ।

टोकियोस्थित चुनावी कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष कामियाले चुनावी प्रदर्शनको समीक्षा गरे। उनले अघिल्लो माथिल्लो सदनको निर्वाचनमा पार्टीको प्रदर्शनलाई १०० मा १२० अङ्क दिएको स्मरण गर्दै यस पटकको नतिजालाई ७५ अङ्क मात्र दिन सकिने बताए ।

कामियाका अनुसार प्रधानमन्त्री ताकाइचीको अत्यधिक लोकप्रियता नै सान्सेइतोको अपेक्षित वृद्धिको बाधक बन्यो । उनले भने, ‘अघिल्लो निर्वाचनमा मेरा चुनावी भाषणका छोटा भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए, तर यस पटक प्रयोगकर्ताहरूको ध्यान ताकाइचीका भिडियोहरूमा बढी केन्द्रित देखियो ।’

सामाजिक सञ्जालमा सोचेजस्तो पकड जमाउन नसके पनि आफ्नो पार्टीले सङ्गठनात्मक पहुँच मजबुत बनाएको र विदेशी नागरिकसँग सम्बन्धित कडा नीति जस्ता मुद्दाहरू आम जनतामाझ पुर्‍याउन सफल भएको उनले दाबी गरे ।

तपाईको प्रतिक्रिया