Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले आइतबार सम्पन्न प्रतिनिधि सभा (तल्लो सदन) को निर्वाचनमा दुई-तिहाइ बहुमतसहित सानदार जित हासिल गरेको छ । यो ऐतिहासिक विजयसँगै प्रधानमन्त्री सानाए ताकाइचीलाई आफ्नो अनुदारवादी (कन्जरभेटिभ) नीतिहरू दृढताका साथ अगाडि बढाउन ठूलो राजनीतिक शक्ति प्राप्त भएको हो ।

४६५ सदस्यीय तल्लो सदनमा एलडिपीले ३१० सिटको ‘जादुई आँकडा’ पार गर्दै दुई-तिहाइ बहुमत सुनिश्चित गरेको छ । दोस्रो विश्वयुद्धपछिको जापानको इतिहासमा एकल पार्टीले यस्तो उपलब्धि हासिल गरेको यो पहिलो पटक हो । यो बहुमतसँगै अब प्रधानमन्त्री ताकाइचीलाई जापानको संविधान संशोधन गर्ने प्रक्रिया अगाडि बढाउन र माथिल्लो सदन (हाउस अफ काउन्सिलर्स) ले अस्वीकृत गरेका विधेयकहरूलाई समेत पुनः पारित गराउन बाटो खुला भएको छ ।

यसअघि तल्लो सदनमा एलडिपीको १९८ सिट मात्रै थियो । गत अक्टोबरमा पदभार सम्हालेकी ताकाइचीको व्यक्तिगत लोकप्रियताका कारण पार्टीले उल्लेख्य सिट संख्या थप्न सफल भएको विश्लेषण गरिएको छ । एलडिपी र उसको गठबन्धन साझेदार ‘जापान इनोभेसन पार्टी’ (जेआईपी) को सदनमा अब भारी उपस्थिति रहनेछ ।विपक्षी गठबन्धनको लज्जास्पद हार
निर्वाचनको परिणामले भर्खरै गठन भएको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ लाई ठूलो धक्का दिएको छ । निर्वाचनअघि १६७ सिट रहेको यस गठबन्धनले यसपटक आधा सिट पनि जोगाउन सकेन । हारको जिम्मेवारी लिँदै गठबन्धनका सह-नेताहरू योशिहिको नोडा र तेत्सुओ साइतोले राजीनामा दिने संकेत गरेका छन् । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी र कोमेइतो पार्टी मिलेर बनेको यो गठबन्धनलाई मतदाताले चुनावी फाइदाका लागि गरिएको अप्राकृतिक मिलनका रूपमा बुझ्दा पराजय भोग्नुपरेको टिप्पणी गरिएको छ ।

आक्रामक आर्थिक र रक्षा नीति
विजयपछि सञ्चारमाध्यमहरूसँग बोल्दै प्रधानमन्त्री ताकाइचीले भनिन्, ‘हामीले गरेका चुनावी वाचाहरू पूरा गर्ने ठूलो जिम्मेवारी अब हाम्रो काँधमा आएको छ ।’ उनले बढ्दो मुद्रास्फीति र जटिल अन्तर्राष्ट्रिय सुरक्षा वातावरणलाई मध्यनजर गर्दै ‘जिम्मेवार तर आक्रामक’ वित्तीय नीति लिने र देशको रक्षा क्षमतालाई सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याइन् ।

विशेष गरी, दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यबाट राहत दिन ताकाइचीले खाद्यान्नमा लाग्ने ८ प्रतिशत ‘कन्जम्पसन ट्याक्स’ (उपभोक्ता कर) लाई दुई वर्षका लागि निलम्बन गर्ने आफ्नो योजनालाई तीव्रता दिने घोषणा गरेकी छन् ।

पपुलिस्ट समूहका रूपमा चिनिएको ‘सानसेइतो’ पार्टीले यसपटक १३ सिट जित्दै आफ्नो उपस्थिति बलियो बनाएको छ भने प्रविधिमैत्री राजनीतिको वकालत गर्ने ‘टिम मिराई’ ले ९ सिटसहित पहिलो पटक तल्लो सदनमा प्रवेश पाएको छ ।

भारी हिमपात र चिसोका बावजुद मतदाताको उपस्थिति उत्साहजनक रह्यो। यसपटक ५६.२३ प्रतिशत मतदान भएको छ, जुन सन् २०२४ को निर्वाचनको तुलनामा २ प्रतिशतले बढी हो । झन्डै २ करोड ७० लाख मानिसले ‘अर्ली भोटिङ’ (अग्रिम मतदान) मार्फत आफ्नो मताधिकार प्रयोग गरेका थिए, जुन आफैँमा एक कीर्तिमान हो ।३६ वर्षपछि पहिलो पटक फेब्रुअरीको हिउँदमा चुनाव गराएको भन्दै ताकाइचीको आलोचना भए पनि नतिजाले उनलाई अनुमोदन गरेको छ । यद्यपि, चुनावी व्यस्तताका कारण सन् २०२६ को वार्षिक बजेट पारित गर्न हुने ढिलाइ र विपक्षीहरूको विरोधलाई चिर्नु उनका लागि आगामी चुनौती हुनेछन् ।

वर्तमान मन्त्रिपरिषद्लाई खासै फेरबदल नगर्ने संकेत गरेकी ताकाइचीले गठबन्धन साझेदार जेआईपीलाई पनि सरकारमा सहभागी गराएर सन्तुलित ढंगले अघि बढ्ने लक्ष्य राखेकी छन् । यो जितले जापानको राजनीतिमा लामो समयपछि एउटा स्थिर र शक्तिशाली नेतृत्वको उदय भएको संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया