Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

टोकियो – जापानमा बसोबास गरिरहेका नेपाली समुदायमा सकारात्मक ऊर्जा, आत्मविश्वास र उद्यमशीलताको भावना जागृत गराउन ‘महानायक’ राजेश हमालको उपस्थितिमा विशेष उत्प्रेरणात्मक अभियान सञ्चालन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) को मुख्य आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको सह-आयोजनामा आगामी फेब्रुअरी ११ देखि जापानका पाँच प्रमुख सहरहरूमा ‘सपना, साधना र सफलता : युगदेखि युगसम्म‘ शीर्षकमा कार्यक्रम आयोजना हुन लागेको हो ।

प्रवासको व्यस्त जीवन, वैदेशिक रोजगारी र अध्ययनका क्रममा भोग्नुपर्ने मानसिक तनाव र चुनौतीहरूलाई चिर्दै नेपाली समुदायलाई अघि बढ्न प्रेरित गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रममा महानायक हमालले आफ्नो तीन दशक लामो चलचित्र यात्रा, व्यक्तिगत अनुशासन, निरन्तरको साधना र सफलताका मन्त्रहरूबारे सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्नेछन् ।

कार्यक्रमको अर्को मुख्य आकर्षण महानायक हमालद्वारा लिखित चर्चित पुस्तक ‘युगदेखि युगसम्म’को विशेष चर्चा रहनेछ । सहभागीहरूले कार्यक्रम स्थलमै लेखक हमालको हस्ताक्षरसहितको पुस्तक प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो पुस्तकमा हमालको जीवनका भोगाइ, सिने क्षेत्रका अनुभव र जीवन दर्शनलाई समेटिएको छ, जसले पाठकलाई अघि बढ्न मार्गनिर्देश गर्ने विश्वास गरिएको छ ।

नेपाली समुदायका विद्यार्थी, श्रमिक, व्यवसायी तथा अन्य पेशाकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहनेछ । एनआरएनए जापानका अनुसार प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो माटो र संस्कृतिसँग जोड्दै उनीहरूको व्यक्तित्व विकासमा टेवा पुर्‍याउनु यस कार्यक्रमको मूल लक्ष्य हो ।

यस्तो छ कार्यक्रम तालिका:
आयोजकका अनुसार जापानको भौगोलिक अनुकूलतालाई ध्यान दिँदै पाँच फरक स्थानमा कार्यक्रम तय गरिएको छ:-
१. टोकियो: फेब्रुअरी ११ (बुधबार) – नाकानो जिरो हल (साँझ ६:३० बजे)
२. शिजुओका: फेब्रुअरी १४ (शनिबार) – मिराइए कम्युनिटी हल (साँझ ६:०० बजे)
३. नागोया: फेब्रुअरी १५ (आइतबार) – नागोया इन्टरनेशनल सेन्टर (साँझ ५:०० बजे)
४. ओसाका (कान्साइ): फेब्रुअरी १७ (मंगलबार) – आवेनो सिभिक सेन्टर (साँझ ४:३० बजे)
५. फुकुओका: फेब्रुअरी १९ (बिहीबार) – हाकाता सिमिन सेन्टर (साँझ ६:०० बजे)

आयोजक समितिले जापानभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई पायक पर्ने स्थानमा उपस्थित भई यस ऐतिहासिक र गौरवपूर्ण कार्यक्रमको लाभ उठाउन अपिल गरेको छ । प्रवासमा नेपालीपनको प्रवर्द्धन र व्यक्तिगत रूपान्तरणका लागि यो कार्यक्रम एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया