टोकियो – जापानमा पछिल्लो समय बढ्दो महँगीका कारण यस वर्षको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस) को रौनक केही फिक्का हुने देखिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको बजेटमा दबाब परेपछि उपहारका रूपमा चकलेट दिने जापानी महिलाहरूको संख्यामा उल्लेख्य कमी आएको एक हालैको सर्वेक्षणले देखाएको छ ।
बजार अनुसन्धान संस्था ‘इन्टेज इन्क’ले १५ देखि ७९ वर्ष उमेर समूहका २,५०० महिला तथा बालिकाहरूमाझ गरेको सर्वेक्षणअनुसार, ४२.८ प्रतिशत सहभागीले यस वर्ष कसैलाई पनि चकलेट उपहार दिने योजना नरहेको बताएका छन् । यो संख्या गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो ।
जापानमा भ्यालेन्टाइन डेका अवसरमा महिलाहरूले आफ्ना प्रेमी वा श्रीमान्का साथै बुबा, दाजुभाइ र कार्यालयका सहकर्मीहरूलाई चकलेट उपहार दिने पुरानो परम्परा छ । कतिपयले साथीभाइहरूबीच पनि चकलेट आदानप्रदान गर्ने गर्छन् ।
सर्वेक्षणको तथ्यांकअनुसार सबैभन्दा ठूलो गिरावट पारिवारिक उपहारमा देखिएको छ । परिवारका सदस्यहरूलाई चकलेट दिने सोच बनाएका महिलाहरूको संख्या ४.४ प्रतिशतले घटेर ३८.७ प्रतिशतमा झरेको छ। त्यस्तै, साथीभाइलाई चकलेट उपहार दिनेहरू ११.२ प्रतिशत र कार्यालयका सहकर्मीहरूलाई दिइने ‘बाध्यकारी’ चकलेटको अनुपात ७.९ प्रतिशतमा सीमित भएको छ ।
विशेषगरी कामकाजी महिलाहरूमाझ कार्यालयका पुरुष सहकर्मीहरूलाई चकलेट दिनुपर्ने सामाजिक बाध्यताप्रति अनिच्छा बढ्दो छ । सर्वेक्षणमा सहभागी ८५.४ प्रतिशत कामकाजी महिलाहरूले सहकर्मीहरूलाई चकलेट दिन मन नलागेको बताएका छन् । यो सन् २०२२ मा सर्वेक्षण सुरु भएयताकै उच्च विन्दु हो ।
अर्कोतर्फ, अरूलाई उपहार नदिए पनि आफ्नै लागि चकलेट किन्ने महिलाहरूको संख्या भने स्थिर देखिएको छ । सर्वेक्षणअनुसार २१.३ प्रतिशत महिलाहरूले आफ्नै उपभोगका लागि चकलेट किन्ने योजना बनाएका छन् ।
भ्यालेन्टाइन चकलेटका लागि गरिने औसत खर्च अघिल्लो वर्षको तुलनामा ८.१ प्रतिशतले बढेर ४,९४३ येन पुगेको छ । तर, महँगीका कारण गुणस्तरीय वा विलासी ब्रान्डका चकलेट खरिद गर्ने रुचिमा भने कमी आएको सर्वेक्षणले देखाएको छ ।
बढ्दो लागत र बदलिँदो सामाजिक सोचका कारण जापानको परम्परागत भ्यालेन्टाइन संस्कृतिमा बिस्तारै परिवर्तन आउन थालेको विश्लेषण गरिएको छ ।








