टोकियो – नेपाल र जापानबीचको सात दशक लामो कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै राष्ट्रपति रामचन्द्र पौडेल बुधबार स्वदेश प्रस्थान गरेका छन् । जापान सरकारको औपचारिक निमन्त्रणामा टोकियो पुगेका राष्ट्रपति पौडेल आफ्नो भ्रमण सफलतापूर्वक सम्पन्न गरी नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि उडेका हुन् ।
नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ विशेष समारोहमा मुख्य अतिथिको रूपमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल गत आइतबार राति नेपालबाट प्रस्थान गरी सोमबार टोकियो उत्रिएको थियो ।
भ्रमणको मुख्य आकर्षणका रूपमा राष्ट्रपति पौडेलले टोकियोस्थित ‘इम्पेरियल प्यालेस’ मा जापानी सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गरेका थिए । दुई देशबीचको ऐतिहासिक र मित्रवत सम्बन्धलाई यो भेटले थप उचाइमा पुर्याएको विश्वास गरिएको छ । यसैगरी, भ्रमणकै क्रममा राष्ट्रपति पौडेलले जापानी प्रधानमन्त्री ताकाइची सानाय र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। भेटका क्रममा द्विपक्षीय हित र सहयोगका विविध पक्षमा छलफल भएको थियो ।
जापान सरकारद्वारा आयोजित ७०औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धलाई ‘अतुलनीय मित्रता’ को संज्ञा दिएका थिए । सो अवसरमा उनले जापानी व्यापारिक समुदाय र जापानमा रहेका नेपाली डायस्पोरासँग पनि अन्तरक्रिया गरेका थिए ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसको करिब एक दशकपछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेर मित्रतालाई संस्थागत स्वरूप दिएका थिए । ***








