काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अबको दिनमा पूर्ण रूपमा एकताबद्ध र अनुशासित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतका कमी-कमजोरीलाई दोहोरिन नदिई पार्टीलाई नयाँ उचाइमा पुर्याउने संकल्प गरेका हुन् ।
पार्टीभित्र देखिएका असन्तुष्टि र गुटगत मानसिकतालाई चिर्दै ‘एक ढिक्का’ एमाले निर्माणमा उनले जोड दिए । अध्यक्ष ओलीले विधान महाधिवेशनबाट पारित वैचारिक तथा सांगठनिक कार्यदिशालाई मूल मन्त्र मानेर अघि बढ्न नेता-कार्यकर्तालाई सचेत गराए ।
बैठकमा बोल्दै उनले पार्टी संगठन सञ्चालनलाई सैनिक अनुशासनसँग तुलना गरे । उनले भने, ‘अब हाम्रो स्वर एउटै हुनुपर्छ । जसरी परेड खेल्दा सेनाका जवानहरूको हात र खुट्टाको ताल मिल्छ, त्यसरी नै एमालेको सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’
उनले विगतमा पार्टीभित्र देखिएका समस्याहरूलाई अबका दिनमा स्थान नदिइने स्पष्ट पारे । साथै, अध्यक्ष ओलीले जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै टोल-टोलमा सुरक्षा समिति गठन गरेर सक्रिय रहन पनि पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।








