टोकियो – आगामी केही दशकभित्र जापानको राजधानी टोकियो र यसका आसपासका क्षेत्रमा जान सक्ने शक्तिशाली भूकम्पका कारण १८ हजारसम्म मानिसको मृत्यु हुन सक्ने सरकारी अनुमान सार्वजनिक भएको छ ।
शुक्रबार एक सरकारी प्यानलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सम्भावित कुल मृत्युमध्ये दुई तिहाइको मुख्य कारण आगलागी हुने बताइएको छ । यो नयाँ अनुमान ७.३ म्याग्निच्युडको भूकम्पले महानगर क्षेत्रमा हान्ने सम्भावनालाई आधार मानेर तयार गरिएको हो । यद्यपि, यो संख्या सन् २०१३ मा गरिएको अघिल्लो प्रक्षेपणको तुलनामा ५ हजारले कम हो । भूकम्प प्रतिरोधी भवनहरूको निर्माणमा भएको वृद्धि र काठका पुराना घरहरू भएका घना बस्तीमा अग्नि नियन्त्रणका उपायहरूमा गरिएको सुधारका कारण सम्भावित क्षति कम हुने आँकलन गरिएको हो ।
तुलनात्मक रूपमा हेर्दा, सन् २०११ को मार्च ११ मा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्युडको महाभूकम्प र विनाशकारी सुनामीका कारण १५,९०० जनाको मृत्यु भएको थियो । सबैभन्दा खराब अवस्थामा, कारखानाहरूको विनाश र उत्पादनमा आउने ह्रासका कारण ८२.६ ट्रिलियन येन (करिब ५३० अर्ब डलर) को आर्थिक नोक्सानी हुन सक्ने प्रक्षेपण गरिएको छ। यो रकम पनि अघिल्लो अनुमानभन्दा करिब १३ ट्रिलियन येनले कम हो ।
सरकारले टोकियो केन्द्रित भूकम्पका लागि विपद् पूर्वतयारीलाई अद्यावधिक गर्ने योजना बनाएको छ । साथै, सन् २०२६ को आर्थिक वर्षमा स्थापना हुने नयाँ विपद् व्यवस्थापन एजेन्सी मार्फत क्षति न्यूनीकरण र विपद्का बेला मुख्य सरकारी संयन्त्रको सञ्चालनलाई निरन्तरता दिन थप कदम चालिनेछ ।
३० वर्षभित्र ७० प्रतिशत जोखिम
सरकारका अनुसार आगामी ३० वर्षभित्र राजधानीको भूगर्भमा ७ म्याग्निच्युडको भूकम्प जाने सम्भावना करिब ७० प्रतिशत रहेको छ । यो भूकम्प टोकियोको दक्षिण–मध्य क्षेत्रमा केन्द्रित हुने र यसले राजधानीको मुख्य पूर्वाधारमा सबैभन्दा बढी असर पुर्याउने अनुमान छ ।
सबैभन्दा जोखिमपूर्ण परिदृश्य अनुसार, यदि जाडो यामको साँझ प्रतिघण्टा २८.८ किलोमिटरको वेगमा हावा चलिरहेको समयमा भूकम्प गएमा क्षति उच्च हुनेछ। यस्तो अवस्थामा टोकियो र छिमेकी चार प्रिफेक्चरहरूमा व्यापक जनधनको क्षति हुनेछ भने टोकियोमा मात्रै ८ हजार (कुल मृत्युको ४० प्रतिशतभन्दा बढी) को ज्यान जान सक्नेछ ।
आश्रयस्थल र विस्थापितको चुनौती
विपद्का कारण करिब ४ लाख २ हजार भवनहरू भत्किने वा जल्ने अनुमान छ, जुन अघिल्लो अनुमानभन्दा २ लाख १० हजारले कम हो । भूकम्प गएको दुई साताभित्र विस्थापितको संख्या ४८ लाख पुग्न सक्नेछ ।
पहिलो पटक गरिएको अर्को महत्त्वपूर्ण प्रक्षेपणमा, विपद्पछि आश्रयस्थलमा बस्न बाध्य हुँदा उत्पन्न हुने स्वास्थ्य समस्या र तनावका कारण थप १६ हजारदेखि ४१ हजारसम्म मानिसको मृत्यु हुन सक्ने औंल्याइएको छ । यदि साताको काम गर्ने दिन दिउँसो भूकम्प गएमा, टोकियो र यसका छिमेकी प्रिफेक्चरहरू (चिबा, कानागावा, साइतामा र इबाराकी)मा गरी करिब ८४ लाख मानिस घर फर्कन असमर्थ हुनेछन् । यसबाहेक, विदेशी पर्यटकसहित ६ लाख ५० हजारदेखि ८ लाख ८० हजार आगन्तुकहरू पनि अलपत्र पर्न सक्नेछन् ।








