काठमाडौं – केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका छन् । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेल भने अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए । २०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
यसैबीच महासचिवमा शंकर पोखरेल दोहोरिएका छन् । उनी १२ सय २८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए । एमालेको ११औं महाधिवेशनमा आज बिहानैदेखि मतगणना सुरु भएको थियो। केहीबेरअघि अन्तिम नतिजा सार्वजनिक भएको हो ।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।








