Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – गत वर्षको सेप्टेम्बरमा जापानको यामागाता प्रिफेक्चरको पहाडी क्षेत्रमा, एक घरधनीले आफ्नो खाली जग्गामा घाँस काट्न जाँदा एउटा टेन्ट फेला पारे । टेन्टभित्र कोइला बालेको अवस्थामा एक किशोरीको शव भेटियो । अनुसन्धानका क्रममा ती किशोरीलाई सहरबाट गाडीमा ल्याएर त्यहाँ छोडिएको रहस्य खुल्यो ।

यस घटनाको मुख्य योजनाकार फुकुसिमाका ३६ वर्षीय बेरोजगार हिरोकी किशिनामी रहेको पाइएको छ । उनलाई आत्महत्या दुरुत्साहन (आत्महत्या गर्न सघाएको) आरोपमा पक्राउ गरी मुद्दा चलाइएको छ । किशिनामीमाथि ती किशोरीसहित कुल पाँच जनालाई आत्महत्या गर्न सघाएको र एक जनाको अपहरण गरेको आरोप छ । पीडितहरूमा फुकुसिमा, मियागी र साइतामाका किशोर–किशोरी तथा २० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । गत वर्षको जुनदेखि यस वर्षको जनवरीबीच भएका यी घटनाहरूमा चार जनाको मृत्यु भइसकेको छ भने फुकुसिमाकी एक किशोरी बाँच्न सफल भइन् ।

अभियोगपत्रका अनुसार, किशिनामीको अपराध गर्ने शैली उस्तै थियो। उनी सामाजिक सञ्जालमा ‘मर्न चाहने’ भन्दै पोस्ट गर्ने निराश युवाहरूलाई सम्पर्क गर्थे र ‘सँगै मरौँ’ भन्दै उक्साउँथे । त्यसपछि गोप्य म्यासेजिङ एपहरू प्रयोग गरेर उनीहरूलाई भेट्न बोलाउँथे । प्रहरीका अनुसार उनले पीडितहरूमाथि यौन दुर्व्यवहार गरेको र एक युवतीको एटिएम कार्ड प्रयोग गरी पैसा चोरेको समेत पाइएको छ । विज्ञहरूका अनुसार अपराधीहरूले पीडितको कमजोरीको फाइदा उठाउँदै आफ्नो यौन वा आर्थिक स्वार्थ पूरा गर्ने गर्छन् ।

यस घटनाले सन् २०१७ को कुख्यात ‘ट्विटर किलर’ ताकाहिरो सिराइशीको घटनालाई पुनः ताजा गराएको छ । सिराइशीले सामाजिक सञ्जालमार्फत ९ जनालाई फसाएर हत्या गरेका थिए । उनलाई २०२५ को जुन महिनामा फाँसी दिइएको थियो । सामाजिक संस्था ओभिएका जिरो इतो भन्छन्, ‘वास्तविक जीवनमा आफ्नो पीडा पोख्न नसक्दा युवाहरू सामाजिक सञ्जालतिर आकर्षित हुन्छन् । उनीहरूको ‘मर्न चाहन्छु’ भन्ने पोस्ट वास्तवमा सहयोगको याचना हो ।’

जापानमा समग्र आत्महत्याको दर घटे पनि युवापुस्तामा भने यो चिन्ताजनक रूपमा बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार २०२४ मा २० वर्ष मुनिका ४३० किशोरीले आत्महत्या गरेका छन्, जुन सोही उमेर समूहका किशोरहरूको सङ्ख्याभन्दा बढी हो । विज्ञहरूले यसलाई ‘शान्त सङ्कट’को संज्ञा दिँदै अनलाइन परामर्शका साथै वास्तविक जीवनमा साथीभाइ र विश्वासिलो वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।

 

तपाईको प्रतिक्रिया