टोकियो – आफ्नै कार्यालयका एक कर्मचारीसँग ‘लभ होटेल’ मा भेटघाट गरेको विवादका कारण राजीनामा दिएकी जापानको मैबासी शहरकी पूर्वमेयर अकिरा ओगावाले पुनः मेयर पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
गुन्मा प्रिफेक्चरअन्तर्गत मैबासी शहरको नेतृत्व सम्हालिसकेकी ४२ वर्षीया ओगावाले आगामी निर्वाचनमा आफूलाई पुनः उम्मेदवारका रूपमा उभ्याउने जानकारी आइतबार (डिसेम्बर १५) सार्वजनिक गरेकी हुन् । गत सेप्टेम्बरमा ओगावा र तत्कालीन शाखा प्रमुख (सचिव) बीच ‘लभ होटेल’ मा भेटघाट भएको खबर सार्वजनिक भएपछि जापानी राजनीतिमा तरङ्ग आएको थियो ।
ओगावाले ती कर्मचारीसँग कम्तीमा १० पटक होटेलमा भेटेको स्वीकार गरेकी थिइन् । यद्यपि, उनले आफूहरूबीच कुनै रोमान्टिक वा अनैतिक सम्बन्ध नरहेको दाबी गर्दै आएकी छिन् । सुरुमा आफ्नो तलब ५० प्रतिशत कटौती गरेर पदमै रहने योजना बनाए पनि नगर सभा र जनस्तरबाट चर्को आलोचना भएपछि गत नोभेम्बरको अन्त्यमा उनले राजीनामा दिएकी थिइन् ।
आगामी सन् २०२६ जनवरी ५ बाट आधिकारिक रूपमा सुरु हुने चुनावी अभियानको मतदान जनवरी १२ मा हुने तय गरिएको छ । पदमा फर्कने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएकी ओगावाको प्रतिस्पर्धा दुई स्वतन्त्र उम्मेदवारहरूसँग हुनेछ ।








