समाचार सुन्नुहोस :
काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। ५० वर्षीय तामाङलाई मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार तामाङ २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न मुद्दामा जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। उनीमाथि पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी अर्को मुद्दा विचाराधीन अवस्थामा रहेको पाइएको छ। सो मुद्दामा उनी फरार रहेको भन्दै प्रहरीले खोजी गरिरहेको थियो।
यसअघि २०६९ असारमा पाँचथरको भुसपातेबाट तामाङलाई विस्फोटक पदार्थसहित पक्राउ गरी काठमाडौं ल्याइएको थियो। बबरमहल विस्फोट घटनामा अभियोजन भई नख्खु कारागारमा सजाय काटेका तामाङ २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा भएका थिए। हाल पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि सीआईबीले पाँचथर पठाएको छ।








