टोकियो – जापानको वाकायामा प्रिफेक्चरल पुलिसले आफ्नै सहकर्मीमाथि ठट्टा गर्दै पेस्तोल ताक्ने एक वरिष्ठ प्रहरी निरीक्षक (चिफ इन्स्पेक्टर) लाई कारबाहीको दायरामा ल्याएको छ । ४० वर्षका ती अधिकारीलाई जापानको ‘तरबार तथा बन्दुक नियन्त्रण कानुन’ उल्लंघन गरेको आरोपमा अभियोजनकर्तासमक्ष सिफारिस गरिएको प्रहरीले मंगलबार जनाएको छ ।
घटना विवरण अनुसार, ती अधिकारीले गत जुलाई र अगस्ट महिनामा सञ्चालित अनुसन्धान तालिमको विश्राम (ब्रेक) का समयमा आफ्ना दुईजना सहकर्मीमाथि पेस्तोल ताकेका थिए । उनले रमाइलोका लागि भन्दै पटक-पटक पेस्तोल ताक्ने गरेको अनुसन्धानबाट खुलेको छ । त्यस समयमा उक्त पेस्तोलमा ‘पेन्ट राउण्ड’ (लाग्दा फुटेर रङ छरिने गोली) लोड गरिएको थियो ।
यद्यपि, सुरक्षा निकायमा हतियारको प्रयोगमा गम्भीर अनुशासन हुनुपर्नेमा खेलवाड गरिएको भन्दै यो विषयलाई गम्भीरतापूर्वक लिइएको छ । कारबाही स्वरूप प्रहरीले ती अधिकारीलाई मंगलबारदेखि लागू हुने गरी ६ महिनाका लागि निलम्बन गरेको छ । निलम्बनको निर्णय लगत्तै ती अधिकारीले मंगलबार नै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
वाकायामा प्रहरीका प्रमुख (चिफ इन्स्पेक्टर जनरल) मित्सुजी किमुराले मंगलबार प्रिफेक्चरल एसेम्बलीको समितिलाई सम्बोधन गर्दै भने, ‘प्रहरीलाई विशेष अनुमति दिएर राखिएको हतियार, ठट्टाकै रूपमा भए पनि अर्को अधिकृततर्फ ताक्नु अक्षम्य कार्य हो । यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।’








