टोकियो – जापानले देशको उत्तर-पूर्वी तटीय क्षेत्रमा जारी गरेको ‘मेगाक्वेक’ (विनाशकारी भूकम्प) को चेतावनी मङ्गलबारबाट हटाएको छ । गत साता ७.५ म्याग्निच्युडको भूकम्प गएपछि अर्को ठूलो भूकम्प आउन सक्ने जोखिम बढेको भन्दै यो विशेष सावधानी सूचना जारी गरिएको थियो ।
जापानको मौसम विज्ञान एजेन्सी र मन्त्रिपरिषद् कार्यालयले संयुक्त पत्रकार सम्मेलन गर्दै ठूलो भूकम्पको तत्कालिन जोखिम केही कम भएको जानकारी दिएका छन् । चेतावनी हटेसँगै अब प्रभावित क्षेत्रका बासिन्दाले जुत्ता, हेल्मेट र आपतकालीन झोला तयारी अवस्थामा राखेर सुत्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ । यद्यपि, अधिकारीहरूले जोखिम पूर्ण रूपमा नटरेको भन्दै निरन्तर सतर्कता अपनाउन र पूर्वतयारीमा रहन नागरिकलाई आग्रह गरेका छन् ।
गत सोमबार जापानको आओमोरी र होक्काइडो क्षेत्र नजिकै गएको ७.५ म्याग्निच्युडको भूकम्पका कारण ४० भन्दा बढी मानिस सामान्य घाइते भएका थिए भने दर्जनौं घरमा क्षति पुगेको थियो । सो समयमा ७० सेन्टिमिटरसम्मको सुनामी रेकर्ड गरिए पनि ठूलो धनजनको क्षति भने भएन ।
सन् २०२४ को गृष्मयाममा जारी गरिएको ‘नानकाई ट्राफ’ चेतावनीका बेला जस्तो यसपटक मानिसहरूमा त्रास र आपतकालीन किनमेलको भीड देखिएन । सन् २०११ को महाभूकम्प र सुनामीको पाठ सिक्दै जापानले सन् २०२२ देखि होक्काइडो-सानरिकु क्षेत्रका लागि यस्तो चेतावनी प्रणाली सुरु गरेको हो ।








