टोकियो – अशिकांश जापानी नागरिकहरुले देशमा विदेशीको मनोमानी बढेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । माइनिची सिम्बुनले नोभेम्बरमा गरेको राष्ट्रव्यापी जनमत सर्वेक्षणले विदेशीहरूसँग सम्बन्धित सरकारी नीतिबारे जापानी जनताको गहिरो चिन्ता र चासो उजागर गरेको हो ।
विशेषगरी विदेशीहरूले गर्ने घरजग्गा खरिददेखि सामाजिक शिष्टाचारसम्मका विषयमा जनताले व्यापक चासो व्यक्त गरेका छन् । विदेशीहरूका सम्बन्धमा कडा नीति अख्तियार गर्ने सरकारी कदम नै प्रधानमन्त्री सानाय ताकाइचीको मन्त्रिपरिषद्को उच्च लोकप्रियताको मुख्य आधार बनेको देखिएको छ । माइनिचीको सर्वेक्षण अनुसार ७१ प्रतिशत उत्तरदाताले सरकारको यो कडा नीतिको समर्थन गरेका छन्, जुन विपक्षमा रहेका १० प्रतिशतको तुलनामा निकै ठूलो सङ्ख्या हो ।
मन्त्रिपरिषद्लाई समर्थन गर्नेहरूमध्ये ८४ प्रतिशतले यो नीतिको पक्ष लिएका छन् भने सरकारलाई समर्थन नगर्ने समूहमा समेत ४५ प्रतिशतले यो नीतिको अनुमोदन गरेका छन् । आलोचकहरूले कडा नीतिले ‘जेनोफोबिया’ (विदेशीप्रतिको द्वेष) बढाउन सक्ने बताए पनि मतदाताहरूको वास्तविक भावना भने सर्वेक्षणमार्फत यसरी बाहिर आएको छ:-
कडा कदमप्रति उच्च समर्थन : लैङ्गिक आधारमा हेर्दा ७८ प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले कडा नीतिको समर्थन गरेका छन् । यद्यपि, महिलाहरूमा ‘निश्चित धारणा नभएको’ (अनिश्चित) सङ्ख्या बढी भएकाले विरोध गर्ने दर भने महिला (११%) र पुरुष (१०%) मा लगभग समान छ । उमेर समूहका आधारमा हेर्दा ७० वर्षभन्दा कम उमेरका सबै समूहमा ७० प्रतिशतभन्दा बढीले समर्थन जनाएका छन् भने ७० वर्षमाथिका ज्येष्ठ नागरिकहरूमा पनि ६८ प्रतिशतको समर्थन देखिन्छ । यसले यो नीतिप्रति व्यापक पुस्तागत समर्थन रहेको देखाउँछ ।
सबैभन्दा ठूलो असन्तुष्टिः घरजग्गा खरिद : सर्वेक्षणमा सहभागीहरूलाई कडा नीतिको समर्थन गर्नुको कारण सोध्दा, अत्यधिक बहुमतले ‘विदेशीहरूले गर्ने घरजग्गा खरिदको नियममा पुनरावलोकन’ गर्नुपर्ने चाहना व्यक्त गरे । ४० वर्षीय एक पुरुषले भने, ‘विदेशीले स्वतन्त्र रूपमा हाम्रो जमिन किन्न पाउने प्रणाली नै आधारभूत रूपमा गलत छ। यसमा प्रतिबन्ध र कडा नियमन हुनुपर्छ।’
राष्ट्रिय सुरक्षाको विषय पनि प्रमुख चिन्ताको रूपमा आएको छ । ६० वर्षीया एक महिलाले भनिन्, “विशेषगरी जलस्रोतका मुहानहरूमा कडा नियमन गरिनुपर्छ।” त्यस्तै ५० वर्षीया अर्की महिलाले स्रोतसाधनसँग सम्बन्धित क्षेत्रहरू विदेशीको स्वामित्वमा जानु चिन्ताजनक रहेको बताइन् ।
धेरैको असन्तुष्टि ‘सट्टेबाजी वा नाफाका लागि गरिने खरिद’मा केन्द्रित छ । यसले सहरी क्षेत्रमा अपार्टमेन्टको मूल्य र घरभाडा अस्वाभाविक रूपमा बढेको गुनासो ६० वर्षीया एक महिलाले गरिन् । ४० वर्षीया अर्की महिलाले भनिन्, ‘जग्गाको भाउ आवश्यकताभन्दा बढी बढेको छ ।’ विदेशीले घरजग्गा किन्दा जापानी नागरिकले नै घर किन्न नसक्ने अवस्था आएको र ‘जापानीहरू आफ्नै देशमा घरबारविहीन हुने’ त्रास बढेको धारणा पनि सर्वेक्षणमा व्यक्त गरिएको छ ।
शिष्टाचारको उल्लंघन र सामाजिक समस्या : विदेशीहरूबाट हुने शिष्टाचार उल्लंघनका घटनाले पनि धेरैलाई चिन्तित बनाएको छ । ८० वर्ष नाघेकी एक महिलाले भनिन्, ‘नियम नमान्ने र दैनिक जीवनमा खलल पुर्याउनेहरूलाई निरुत्साहित गर्न आवश्यक छ ।’ ६० वर्षीया अर्की महिलाले विदेशी पर्यटक र बासिन्दाहरूप्रति दैनिक रूपमा असजिलो महसुस गरिरहेको बताइन्, जसले छिमेकमा हुने समस्या र ‘ओभरटुरिजम’ (अत्यधिक पर्यटन) को संकेत गर्छ ।
यद्यपि, केहीले कडा नीतिले सुधार ल्याउने अपेक्षा गरेका छन् । ‘कडा उपायहरूले विदेशीसँग सम्बन्धित समस्याहरू घटाउन सक्छ,’ २० वर्षीय एक युवकले भने । ग्रामीण भेगमा समेत विदेशीको सङ्ख्या बढ्दै जाँदा सार्वजनिक सुरक्षा खस्किने डर पनि केहीमा देखिएको छ ।
आवश्यकता र विभेदको चिन्ता
कडा नीतिको विरोध गर्नेहरूले भने यसले विभेद र द्वेष बढाउने चिन्ता व्यक्त गरेका छन् । २० वर्षीया एक महिलाले भनिन्, ‘यो नीतिलाई जायज ठहराउने आधार स्पष्ट छैन, यसले मानव अधिकारको हनन मात्र गर्छ ।’ ६० वर्षीय एक पुरुषले विदेशीहरूलाई एकमुष्ट रूपमा बहिष्कृत गर्नु विभेद भएको बताए । घट्दो जनसङ्ख्याका कारण श्रम अभाव भइरहेको सन्दर्भमा ५० वर्षीय एक पुरुषले भने, ‘विदेशी बिना जापानी समाज चल्नै सक्दैन ।’
रोचक कुरा के छ भने, विरोध गर्ने समूहका केही व्यक्तिले पनि नियमनको आवश्यकता भने महसुस गरेका छन् । उनीहरूको भनाइ छ, ‘जग्गा प्राप्ति नियमहरूको समीक्षा गर्नु राम्रो हो, तर विदेशीप्रतिको द्वेष कति हदसम्म बढ्न दिने भन्ने चुनौती हो ।’ समर्थन गर्नेहरूले पनि ‘बहिष्करणवाद’ तिर जान नहुने चेतावनी दिएका छन् । ‘विदेशी द्वेष बढाउने जोखिम छ, तर घरजग्गा खरिदको निगरानी र व्यवस्थापन आवश्यक छ,’ ७० वर्षीय एक पुरुषले भने ।
श्रम अभावका कारण विदेशी कामदारमाथिको निर्भरता र उनीहरूको बढ्दो सङ्ख्याले निम्त्याएको डरबीच सन्तुलन कायम गर्न गाह्रो भएको विचार पनि अनिश्चित समूहबाट आएको छ । छिमेकका सामान्य झगडादेखि आकासिँदो घरजग्गाको मूल्य, राष्ट्रिय सुरक्षा र जनसङ्ख्या गिरावटजस्ता गम्भीर विषयहरू विदेशीसम्बन्धी नीतिमा जोडिएका छन् । के प्रधानमन्त्री ताकाइचीले सन्तुलन कायम राख्दै आफ्ना नीतिहरूलाई अघि बढाउन सक्छिन् ? यो नै उनको नेतृत्व क्षमताको मुख्य परीक्षा हुनेछ ।








