समाचार सुन्नुहोस :
काठमाडौँ – अस्ट्रेलियाको सिड्नी सहरस्थित बोन्डाइ बीचमा आइतबार भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना आक्रमणकारी पनि रहेका छन्। प्रहरीले घटनालाई आतंकवादी आक्रमणको रूपमा घोषणा गरेको छ।
साँझ करिब ७ बजे दुई जना बन्दुकधारीले लोकप्रिय समुद्रीतट क्षेत्रमा अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीका अनुसार १ सयभन्दा बढी गोली प्रहार भएको थियो। घटनामा ४० भन्दा बढी मानिस घाइते भएका छन्, जसमा बालबालिका पनि छन्। दुई जना प्रहरी पनि घाइते भएका छन्।
घटनापछि ठूलो संख्यामा प्रहरी, एम्बुलेन्स, चिकित्सक टोली र विशेष सुरक्षा दस्ता परिचालन गरिएको छ। एक आक्रमणकारी घटनास्थलमै मारिएको र अर्को गम्भीर घाइते अवस्थामा नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनास्थल नजिकै भेटिएका विस्फोटक उपकरण सुरक्षित रूपमा हटाइसकेको जनाएको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई अत्यन्त पीडादायी र स्तब्ध पार्ने बताएका छन्। राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको छ र घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको छ।








