टोकियो – मानिस सर्वज्ञाता हुँदैन, हरेक व्यक्तिमा केही न केही विषयको अज्ञानता हुन्छ । तर, कहिलेकाहीँ सामान्य व्यावहारिक ज्ञानको अभाव हुँदा कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने उदाहरण जापानको ओत्सु सहरमा हालै देखिएको छ । बैंकको सामान्य कार्यप्रणालीबारे जानकारी नहुँदा एक जापानी नागरिकले २ करोड १० लाख जापानी येन (करिब १ करोड ९० लाख नेपाली रुपैयाँ) गुमाउन पुगेका छन् ।
सिगा प्रिफेक्चर प्रहरीका अनुसार, डिसेम्बर ५ मा ओत्सु सहरका ५३ वर्षीय एक कार्यालय कर्मचारीलाई जापानको लोकप्रिय म्यासेजिङ एप ‘लाइन’मार्फत भिडियो र अडियो कल आयो । फोन गर्ने व्यक्तिहरूले आफूलाई एक ठूलो टेलिकम कम्पनीको कर्मचारी र ह्योगो प्रिफेक्चर प्रहरीको अधिकृत भएको दाबी गरेका थिए । ठगी गर्ने गिरोहले ती व्यक्तिलाई भने, ‘तपाईंको बैंक खातामा ४ करोड येन जम्मा गरेर लगत्तै झिकिएको छ, जसले तपाईंलाई एक सम्भावित अपराधमा मुछेको छ ।’
उनीहरूले पीडितलाई विश्वास दिलाउँदै भने कि यो विषयमा निश्चित हुनका लागि उनको खातामा रहेका नोटहरूको ‘सिरियल नम्बर’ जाँच गर्नु आवश्यक छ । यसका लागि उनीहरूले एउटा अनौठो प्रस्ताव राखे- ती व्यक्तिले आफ्नो खाताको रकम उनीहरूको खातामा ट्रान्सफर गर्नुपर्ने र उनीहरूले ‘नोटका सिरियल नम्बरहरू’ जाँच गरेर पुनः पैसा फिर्ता गरिदिने ।
डिजिटल बैंकिङ प्रणालीमा पैसा ट्रान्सफर गर्दा भौतिक रूपमा नोटका बिटाहरू वा तिनमा रहेका सिरियल नम्बरहरू एक ठाउँबाट अर्को ठाउँमा जाँदैनन् भन्ने सामान्य ज्ञान ती पीडितमा नहुनु नै विडम्बना बन्यो । उनले सम्भवतः प्रहरीको नाम सुन्दा आत्तिएर वा ठगहरूको चलाखीपूर्ण कुराकानीमा फसेर यो कुरा सोच्नै भ्याएनन् । उनले दुई दिन लगाएर तीन पटकमा कुल २ करोड १० लाख येन ठगहरूको खातामा ट्रान्सफर गरिदिए । जब आफूले पठाएको रकम फिर्ता आएन, तब मात्र उनले आफू ठगिएको महसुस गरे र प्रहरीलाई खबर गरे । हाल प्रहरीले यसलाई ‘विशेष ठगी’ (तोकुशु सागी) को मुद्दाका रूपमा अनुसन्धान अगाडि बढाएको छ ।








