टोकियो – ताइवान नजिकै चिनियाँ लडाकु विमानले जापानी जेटहरूमा ‘राडार लक’ गरेपछि उत्पन्न तनावका बीच जापान र अमेरिकाका रक्षामन्त्रीहरूले चीनको व्यवहार क्षेत्रीय शान्तिका लागि बाधक भएको निष्कर्ष निकालेका छन् ।
शुक्रबार भएको टेलिफोन वार्तामा जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमी र उनका अमेरिकी समकक्षी पिट हेगसेथले इन्डो-प्यासिफिक क्षेत्रको बिग्रँदो सुरक्षा अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरे । जापानी रक्षा मन्त्रालयका अनुसार दुवै नेताले चीनका गतिविधिहरू क्षेत्रीय शान्ति र स्थिरताका लागि अनुकूल नरहेकोमा सहमति जनाएका हुन् ।
डिसेम्बर ६ मा भएको राडार घटनाबारे बोल्दै मन्त्री कोइजुमीले चीनले तथ्यविपरीत गलत सूचना फैलाइरहेको आरोप लगाए । यद्यपि, उनले जापानले तनाव बढाउन नचाहेको र संयमित रहँदै वार्ताको ढोका खुला राखेको स्पष्ट पारे । उता अमेरिकी रक्षामन्त्री हेगसेथले एसिया-प्यासिफिक क्षेत्रमा आक्रमण रोक्न अमेरिका-जापान गठबन्धन प्रतिबद्ध रहेको दोहोर्याए ।
जापानी प्रधानमन्त्री सानाय ताकाइचीले ताइवानमा चिनियाँ आक्रमण भए जापानले सैन्य हस्तक्षेप गर्न सक्ने अभिव्यक्ति दिएपछि बेइजिङ रुष्ट बनेको छ । यही तनावका बीच गत साता चीन र रुसका आणविक बमवर्षक विमानहरूले जापान वरपर संयुक्त गस्ती गरेका थिए ।
चीन र रुसको सो गस्ती लगत्तै जापान र अमेरिकाले पनि जवाफी अभ्यास स्वरुप ‘सी अफ जापान’ मा बी-५२ र एफ-३५ जस्ता शक्तिशाली विमानसहित संयुक्त हवाई अभ्यास गरेका छन् । चीनले भने आफ्नो विमानले जापानी क्षेत्रमा अनधिकृत प्रवेश नगरेको दाबी गर्दै जापानले विषयलाई अनावश्यक रूपमा उचालेको आरोप लगाएको छ ।








