टोकियो – जापानको उत्तरी क्षेत्रमा लगातारको भूकम्पीय गतिविधिसँगै पुनः ठूलो भूकम्प (मेगा क्वेक) जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । सोमबार आओमोरी प्रिफेक्चरको पूर्वी तटमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि यो क्षेत्रमा भूकम्पीय गतिविधि तीव्र बनेको हो ।
जापानको मौसम विज्ञान एजेन्सीले उत्तरी प्रशान्त तटीय क्षेत्र र अन्य प्रभावित स्थानका बासिन्दाहरूलाई सम्भावित विनाशकारी भूकम्पप्रति सजग रहन चेतावनी दिएको छ । एजेन्सीका अनुसार होक्काइडो नजिकैको चिसिमा ट्रेन्च वा जापान ट्रेन्चमा शक्तिशाली कम्पन वा ‘मेगा क्वेक’ जाने उच्च सम्भावना देखिएको छ । होक्काइडो र सान्रिकु तटका १८२ नगरपालिकाहरूमा भूकम्पसम्बन्धी विशेष सल्लाह जारी गरिएको छ ।
चेतावनी जारी गरिएका क्षेत्रहरूमा होक्काइडो, आओमोरी, इवाते, मियागी, फुकुसिमा, इबाराकी र चिबा प्रिफेक्चर अन्तर्गतका तटीय भूभागहरू समेटिएका छन् ।
लगातारको कम्पन र सुनामीको प्रभाव
सोमबारको ७.५ म्याग्निच्युडको भूकम्पको धक्का आओमोरीको हाचिनोहे सहरमा जापानी मापन (सिनदो) अनुसार ‘अपर ६’ (शून्यदेखि ७ को स्केलमा) महसुस गरिएको थियो । सो भूकम्प लगत्तै होक्काइडो र तोहोकु क्षेत्रका तटीय इलाकाहरूमा सुनामीको चेतावनी जारी गरिएको थियो। इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा ७० सेन्टिमिटर उचाइको सुनामी रेकर्ड गरिएको थियो ।
यसैगरी, शुक्रबार पुनः ६.९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गयो, जसको तीव्रता तोहोकु र होक्काइडोका अधिकांश भागमा ४ म्याग्निच्युड मापन गरिएको थियो । शुक्रबारको भूकम्पपछि होक्काइडोदेखि मियागीसम्म छोटो अवधिका लागि सुनामीको चेतावनी दिइएको थियो। सो क्रममा होक्काइडोको एरिमो र आओमोरीको हाचिनोहे बन्दरगाहमा २० सेन्टिमिटरको सुनामी छाल देखिएको थियो ।
मौसम विज्ञान एजेन्सीका अनुसार, सोमबारको ठूलो झट्कापछि आइतबार बिहान ११:०० बजेसम्म १ वा सोभन्दा बढी तीव्रताका ३६ वटा परकम्पहरू गइसकेका छन् । तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई कुनै पनि समय ठूलो विपद् आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।








