टोकियो – जापानको यामागाता सहरस्थित एक उच्च माध्यमिक विद्यालयमा हातमा चक्कु बोकेर प्रवेश गरेको आरोपमा प्रहरीले ३८ वर्षीया महिलालाई पक्राउ गरेको छ । प्रहरीले ती महिलालाई ‘तरवार तथा हातहतियार नियन्त्रण कानुन’ उल्लङ्घन गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
घटना बुधबार दिउँसो करिब ३:३० बजे सेइजान हाईस्कुलमा भएको हो । रातो ज्याकेट र सेतो टोपी लगाएकी ती महिलालाई विद्यालयका एक कर्मचारीले हातमा चक्कु बोकिरहेको अवस्थामा विद्यालय परिसरभित्र देखेका थिए ।
घटनालगत्तै अर्का कर्मचारीले प्रहरीलाई आपतकालीन नम्बर (११०) मा खबर गरेका थिए । प्रहरी टोली विद्यालय पुग्दा पठनपाठन सकिइसकेको थियो । यद्यपि, विद्यालयमा रहेका बाँकी विद्यार्थीहरूलाई कर्मचारीहरूले तत्कालै सुरक्षित स्थानमा लगेर कक्षा कोठाभित्र राखेका थिए । घटनामा कुनै पनि किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले ती महिलालाई विद्यालय भवनको दोस्रो तलामा रहेको बरन्डाबाट पक्राउ गरेको थियो । पक्राउ पर्ने समयमा उनको हातमा एउटा भान्सामा प्रयोग हुने चक्कु थियो भने झोलामा अर्को चक्कु फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेकी ती महिलाले विद्यालयमा हतियारसहित प्रवेश गर्नुको कारणबारे हालसम्म केही पनि नखुलाएको जापानी प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








