समाचार सुन्नुहोस :
काठमाडौँ – चार नेपालीसहित २५ जना मारिएको गोवाको नाइटक्लब आगलागी प्रकरणमा क्लबका मालिक दुई दाजुभाइ भारत छोडेर भागेका छन्। बीबीसीका अनुसार भारतीय अधिकारीहरूले घटना भएलगत्तै सौरभ र गौरव लुथ्रा थाइल्याण्डको फुकेट पुगेको पुष्टि गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक नेपालीमा चूर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन्।
अनुसन्धानकर्ताहरूका अनुसार गोवाको व्यस्त रात्रिजीवन क्षेत्रमा अवस्थित ‘बर्च बाइ रोमियो लेन’ नाइटक्लब भित्र पटाका फुटेका कारण आगलागी भएको हो। मृतकमध्ये धेरैजना कर्मचारी थिए। घटनामा ५० जना घाइते भएका छन्, जसमध्ये पाँचजनाको अझै अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले फरार रहेका लुथ्रा दाजुभाइलाई खोज्न इन्टरपोलसँग सहयोग मागेको छ। आगलागीपछि नाइटक्लबका प्रबन्धकसहित कम्तीमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। बाँसबाट बनेको संरचना भएका कारण आगो द्रुत गतिमा फैलिएको र बाहिर निस्कन नसक्दा धेरैले ज्यान गुमाउनुपरेको बताइएको छ।








