टोकियो – जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति अबेर ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पलगत्तै मौसम विज्ञान निकायले होक्काइडो, आओमोरी र इवातेका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको थियो, जसलाई केही घण्टापछि हटाइएको छ ।
जापानको मौसम विज्ञान निकायका अनुसार आओमोरीको प्रशान्त तटीय क्षेत्रमा ५४ किलोमिटर गहिराइमा गएको यो भूकम्पले आगामी केही दिनभित्रै सोही क्षेत्रमा उस्तै वा अझ ठूलो म्याग्निच्युडको भूकम्प जाने जोखिम बढाएको छ । होक्काइडो र सान्रिकु तटीय क्षेत्र (आओमोरीदेखि इवाते र मियागीसम्म) का लागि यस्तो खालको चेतावनी जारी गरिएको यो पहिलो पटक हो ।
सरकारको मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारणलाई कम्तीमा एक हप्तासम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । आपत्कालीन अवस्थामा तत्काल भाग्न सकिने गरी अत्यावश्यक सामग्रीको झोला (इमर्जेन्सी किट) तयारी अवस्थामा राख्न सर्वसाधारणलाई अपिल गरिएको छ ।
ठूलो भूकम्पको जोखिम र इतिहास
एजेन्सीका अनुसार यो भूकम्प होक्काइडो र उत्तरपूर्वी जापानको तटीय क्षेत्रमा रहेको ‘ट्रेन्च’ (समुद्री खाडल) क्षेत्रमा गएको हो । प्रशान्त महासागरीय प्लेट होन्सु मुख्य टापुमुनि धसिँदा यो क्षेत्रमा ठूला भूकम्पको जोखिम रहेको सरकारले पहिलेदेखि नै बताउँदै आएको छ ।
सन् २०११ मा आएको ९.० म्याग्निच्युडको विनाशकारी महाभूकम्प पनि जापानको उत्तरपूर्वी क्षेत्रमै गएको थियो, जसमा करिब २० हजार मानिसको मृत्यु हुनुका साथै २,५०० भन्दा बढी बेपत्ता भएका थिए र फुकुसिमा आणविक विपद् निम्तिएको थियो ।
सुनामी र क्षतिको विवरण
सुरुमा ७.२ म्याग्निच्युड बताइएको भूकम्पलाई सच्याएर पछि ७.५ कायम गरिएको थियो । भूकम्पपछि ३ मिटर उच्च सुनामीको चेतावनी दिइएको भए पनि इवातेमा अधिकतम ७० सेन्टिमिटरसम्मको सुनामी रेकर्ड भयो । भूकम्प गएको साढे ३ घण्टापछि सुनामी चेतावनीलाई ‘सल्लाह’मा झारियो र मंगलबार बिहान ६:२० बजे पूर्ण रूपमा हटाइयो ।
जापानी भूकम्प मापन स्केल (७ को स्केल) मा आओमोरीका केही भागमा ‘अप्पर ६’ को कडा धक्का महसुस गरिएको थियो भने कम्पन राजधानी टोकियोसम्म महसुस भयो । आओमोरी र होक्काइडोमा गरी १० जनाभन्दा बढी घाइते भएको विवरण प्राप्त भएको छ, जसमा होक्काइडोको हिदाकाका एक जना गम्भीर छन् । हालसम्म मानवीय क्षतिको कुनै खबर छैन। आओमोरीमा करिब २,७०० घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
प्रधानमन्त्रीको आग्रह र उद्धार तयारी
प्रधानमन्त्री सानाए ताकाइचीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगामी एक हप्तासम्म सरकारी सूचनाहरू ध्यानपूर्वक सुन्न र जमिन हल्लिन थाल्नेबित्तिकै सुरक्षित स्थानतर्फ भाग्न तयार रहन जनतालाई आग्रह गरेकी छन् । मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहारा र रक्षामन्त्री सिन्जिरो कोइजुमीले सरकारले उद्धार कार्यलाई सर्वोच्च प्राथमिकतामा राखेको बताएका छन् ।
होक्काइडो, आओमोरी, मियागी र फुकुसिमाका आणविक भट्टीहरूमा कुनै खराबी नदेखिएको सरकारले पुष्टि गरेको छ । यस्तै, आओमोरीको रोक्कासोस्थित आणविक इन्धन पुनः प्रशोधन केन्द्रमा पनि कुनै असामान्यता पाइएको छैन । यद्यपि, तोहोकु सिन्कान्सेन (बुलेट ट्रेन) सेवा फुकुसिमा र सिन-आओमोरी स्टेसनबीच बन्द गरिएको छ । भूकम्पका कारण एउटा बुलेट ट्रेन ९४ यात्रुसहित केही समय अलपत्र परेको थियो ।
नागरिकको अनुभव- ‘तलबाट हिर्काएजस्तो भयो’
मध्यरातमा आएको भूकम्पले मानिसहरूमा त्रास फैलायो । माइनस ५ डिग्री सेल्सियसभन्दा तलको चिसोमा मानिसहरू बाहिर निस्कन बाध्य भए । हाचिनोहे, आओमोरीका एक ४० वर्षीय पुरुषले भने, ‘सुतिरहेको बेला अचानक तलबाट कसैले हिर्काएजस्तो धक्का महसुस भयो । त्यसपछि लामो समयसम्म ठाडो र तेर्सो दुवै तर्फबाट हल्लाइरह्यो ।’
इवातेको कामाइसीकी ७५ वर्षीया वृद्धाले भूकम्प आउँदा आफू सुत्ने तरखरमा रहेको बताइन् । उनले भनिन्, ‘म भाग्ने कि नभाग्ने दोधारमा थिएँ । बाहिर भालु आउने डर थियो, बिरामी श्रीमान्को स्याहार गर्नुपर्ने थियो र हामीसँग एउटा बिरालो पनि छ ।’ अन्ततः उनले छोरीले चलाएको कारमा उच्च स्थानमा शरण लिइन् । कुजी, इवातेका एक २७ वर्षीय कर्मचारीले भाग्न प्रयोग गरेको कारको सिसामा हिउँ जमेको डरलाग्दो अनुभव सुनाए । भूकम्पको तीव्रता यति थियो कि हाकोदातेस्थित क्योटो न्युजको कार्यालयमा स्टिलको दराज ढलेर फाइलहरू भुइँभरि छरिएका थिए ।
मौसम विज्ञान निकायले आगामी सात दिनभित्र ८ म्याग्निच्युड वा सोभन्दा ठूलो भूकम्प जाने सम्भावना ‘१०० मा १’ रहेको आँकलन गरेको छ । यद्यपि, यस्तो चेतावनी जारी हुँदा पनि अधिकारीहरूले तत्काल घर खाली गरेर विस्थापित हुन भने निर्देशन दिएका छैनन् ।








