टोकियो – जापानको टोकियो जिल्ला अदालतले डेटिङ एपमार्फत भेटिएकी एक युवतीलाई आफू अविवाहित रहेको भन्दै झुक्याउने एक विवाहित पुरुषलाई जरिवानासहित क्षतिपूर्ति तिराउन आदेश दिएको छ ।
अदालतले सोमबार गरेको फैसला अनुसार ती पुरुषले पीडित महिलालाई करिब १५ लाख येन (झन्डै १० हजार अमेरिकी डलर) क्षतिपूर्ति बुझाउनुपर्नेछ । ती पुरुषले कानागावा प्रिफेक्चरमा बस्ने ती महिलालाई आफू विवाहित भए पनि अविवाहित रहेको भन्दै झूटो विवरण दिएर प्रेम सम्बन्ध गाँसेका थिए । पछि ती पुरुष विवाहित भएको र बालबालिकाको बुवा समेत रहेको थाहा पाएपछि महिलाले आफूमाथि धोका भएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । पीडित महिलाले करिब ५० हजार डलर बराबरको क्षतिपूर्तिको माग गरेकी थिइन् ।
अदालतमा सुनुवाइका क्रममा प्रतिवादी पुरुषले महिलासँगको आफ्नो सम्बन्ध केवल यौन सन्तुष्टिका लागि मात्र भएको र यसले महिलाको ‘सतित्वको अधिकार’ हनन नगरेको जिकिर गरेका थिए । तर, सोमबार फैसला सुनाउँदै न्यायाधीश कावहारा ताकाहितोले प्रतिवादीको दाबी खारेज गरिदिए । न्यायाधीशले भने, ‘ती पुरुषलाई स्पष्ट थाहा थियो कि महिलाले विवाहमा परिणत हुने गरी गम्भीर सम्बन्ध चाहेकी थिइन । आफ्नो वैवाहिक स्थिति जानीजानी लुकाएर यौन सम्बन्ध राख्नु महिलाको अधिकार हनन हो ।’
फैसलामा ती पुरुषका कारण महिलालाई यौनजन्य रोग सरेको हुन सक्ने र सत्य थाहा पाएपछि महिलाले गम्भीर मानसिक पीडा भोग्नु परेको विषयलाई समेत आधार मानिएको छ । जापानमा पछिल्लो समय जीवनसाथी खोज्नका लागि डेटिङ एपको प्रयोग ह्वात्तै बढेको छ ।








