समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता हुने भएको छ। केही दिनअघि प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई २२ मंसिरमा छलफलका लागि बोलाएको थियो। सो पत्र प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पठाएका थिए।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको छलफलपछि प्रधानमन्त्री कार्कीले प्रसाईंसँग वार्ता गर्ने सहमति बनेको थियो। सोही सहमति अनुसार आजको बैठक तय गरिएको हो।
दुर्गा प्रसाईंले पछिल्ला दिनमा सरकारविरुद्ध आन्दोलन सञ्चालन गर्दै आएका थिए। आन्दोलन घोषणा गरेपछि उनी केही दिनअघि पक्राउ परेका थिए। प्रसाईं निकट व्यक्तिहरूसँगको आन्तरिक छलफलपछि उनले गृहमन्त्री अर्याल र प्रधानमन्त्री कार्कीसँग वार्ता गर्ने निर्णय गरेको बुझिएको छ। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुअघि प्रसाईंले सरकारसमक्ष २७ बुँदे माग पेस गरेका थिए।








