समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको गोवास्थित एक नाइट क्लबमा भएको भीषण आगलागीमा परेर मृत्यु हुने २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। गोवा प्रहरीका अनुसार मृत्यु भएका सबै नेपाली सोही क्लबमा काम गर्दै आएका थिए।
मृतक नेपालीहरू चूर्णबहादुर पुन, विवेक कटवाल, सुदीप र सविन रहेको प्रहरीले जनाएको छ। चारै जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र शव गोवाकै अस्पतालमा राखिएको बताइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग सम्पर्क गरेर शव नेपाल पठाउने प्रक्रियामा समन्वय गरिरहेको प्रहरीले जनाएको छ। उनीहरू कुन जिल्लाका हुन् भन्ने जानकारी भने खुल्न बाँकी भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये २० जना क्लबका कर्मचारी र पाँचजना पर्यटक छन्। पर्यटकमध्ये चारजना दिल्लीका र एकजना कर्नाटकका हुन्। शनिबार राति उत्तरी गोवाको अर्पोरा गाउँस्थित बिर्च बाई रोमियो लेन नाइट क्लबमा ग्यास सिलिन्डर विस्फोट हुँदा ठूलो आगलागी भएको थियो। राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको उक्त क्लबमा मध्यरातमा आगलागी भएपछि २५ जनाको मृत्यु भएको हो।








