Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापानमा पछिल्लो समय देखिएको भालु आतंक र अनौठो प्रवृत्तिका कारण यहाँका बासिन्दा हैरान छन् । वनजंगलबाट निस्केर सहर पस्ने भालुहरू अहिले मानिसले प्रयोग गर्ने ‘स्वचालित ढोका’समेत सहजै खोलेर भवनभित्र छिर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ ।

भालुले स्वचालित ढोका खोल्न जानेको यो तथ्य सुन्दा जति अनौठो लाग्छ, यसले निम्त्याउने जोखिम उत्तिकै भयावह छ । खुल्ला ठाउँमा भालुसँगको जम्काभेट त खतरनाक हुन्छ नै, तर बन्द कोठा वा पसलभित्र भालुसँग थुनिनु पर्दाको अवस्था अझ कहालीलाग्दो हुन्छ । यही जोखिम न्यूनीकरण गर्न धेरै व्यवसायिक प्रतिष्ठान र भवनहरूले आफ्ना स्वचालित ढोकालाई बन्द गरेर ‘म्यानुअल’ (हातले धकेलेर खोल्नुपर्ने) बनाएका छन् । तर, सुरक्षाका लागि चालिएको यो कदम शारीरिक रूपमा अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि भने अवरोध बनेको छ ।

यही समस्याको समाधान खोज्न जापानी कम्पनी ‘फुलटेक’ र ‘मिराइरो’ ले संयुक्त रूपमा ‘मिराइरो डोर’ नामक नयाँ प्रविधि विकास गरेका छन् । खासमा यो प्रविधि शारीरिक रूपमा अशक्त व्यक्तिहरू वा ह्विलचियर प्रयोगकर्ताहरूका लागि लक्षित गरेर बनाइएको थियो । ब्लुटुथ मार्फत स्मार्टफोनसँग जोडिने यो ढोकालाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार छिटो वा ढिलो बन्द हुने गरी मिलाउन सक्छन् ।

तर, संयोगवश यो प्रविधि भालु नियन्त्रणमा पनि अचूक अस्त्र सावित भएको छ । ‘मिराइरो डोर’ लाई यस्तो सेटिङमा राख्न सकिन्छ कि, स्मार्टफोनमा यसको ‘एप’ भएका व्यक्ति नजिक पुग्दा मात्र यो ढोका आफैं खुल्छ । भालुले न त स्मार्टफोन बोक्छन्, न त एप नै चलाउन जान्दछन्- जसका कारण उनीहरूका लागि यो ढोका बन्द नै रहन्छ ।

यो प्रविधिले ‘अल्छी’ मानिस र ‘चलाख’ भालु दुवैलाई बाहिरै रोक्न मद्दत गर्छ। ढोका खोल्नका लागि मोबाइलमा एप इन्स्टल गर्नु आवश्यक हुन्छ । यद्यपि, एप नभएकाहरूका लागि ढोकामा ‘टच स्विच’को व्यवस्था पनि गरिएको छ । सेन्सरले काम गर्ने सामान्य ढोकाभन्दा टच स्विच थिच्नु भालुको लागि निकै कठिन काम हो ।

तपाईको प्रतिक्रिया