Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापानले विदेशी चालक अनुमति पत्र (लाइसेन्स)लाई जापानी लाइसेन्समा रूपान्तरण गर्ने प्रक्रियामा कडाइ गरेसँगै लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेहरूको संख्यामा भारी गिरावट आएको छ । लामो समयदेखि विदेशीहरूका लागि निकै सहज मानिँदै आएको यो प्रक्रियामा गत अक्टोबर १ देखि गरिएको परिमार्जनपछि उत्तीर्ण दर ९० प्रतिशतभन्दा माथिबाट घटेर करिब ३३ प्रतिशतमा सीमित भएको छ ।

किन गरियो नियममा कडाइ ?
विगतमा विदेशी लाइसेन्स भएकाहरूका लागि जापानमा सामान्य लिखित र प्रयोगात्मक परीक्षा दिएर लाइसेन्स लिन सकिने निकै सरल व्यवस्था थियो । जापानी नागरिकले ड्राइभिङ स्कुलमा २ लाख येनभन्दा बढी खर्च गरेर वा प्रहरी चौकीमा कडा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने बाध्यताको तुलनामा विदेशीहरूका लागि यो प्रक्रिया सस्तो र सहज मानिन्थ्यो ।

तर, गत मे महिनामा एक चिनियाँ नागरिकले लापरवाहीपूर्ण तरिकाले चलाएको सवारीले ‘हिट एण्ड रन’ दुर्घटना निम्त्याएको र सोही महिना एक पेरुभियन नागरिकले एक्सप्रेस-वे (द्रुतमार्ग) मा उल्टो दिशाबाट सवारी चलाएको घटना सार्वजनिक भएपछि यो व्यवस्थामाथि प्रश्न उठेको थियो । यी घटनाहरूपछि विदेशी लाइसेन्स रूपान्तरण प्रक्रिया कत्तिको प्रभावकारी छ भन्ने विषयमा सरकारमाथि दबाब बढेको थियो, जसको फलस्वरूप नियमहरूमा कडाइ गरिएको हो ।

कस्ता छन् नयाँ प्रावधानहरू?
अक्टोबर १ देखि लागू भएको नयाँ नियमअनुसार लिखित र प्रयोगात्मक दुवै परीक्षाको ढाँचा परिवर्तन गरिएको छ:-

१. लिखित परीक्षा: पहिले ट्राफिक चिन्ह पहिचान गर्ने जस्ता जम्मा १० वटा सचित्र प्रश्नहरू सोधिन्थ्यो, जसमा ७ वटा मिलाए पुग्थ्यो । अब भने प्रश्न संख्या बढाएर ५० पुर्याइएको छ । यसमा ट्राफिक नियम र दुर्घटनाको अवस्थामा चालकको जिम्मेवारी सम्बन्धी प्रश्नहरू समेत समावेश गरिएको छ । साथै, उत्तीर्ण हुनका लागि अब० प्रतिशतको सट्टा ९० प्रतिशत अंक ल्याउनुपर्नेछ ।

२. प्रयोगात्मक परीक्षा (ट्रायल): पहिले बन्द कोर्षमा सामान्य तरिकाले गाडी चलाए पुग्नेमा अहिले यसलाई निकै कठिन बनाइएको छ । अब परीक्षार्थीले साँघुरा बाटोमा गाडी गुडाउने, तोकिएको शैलीमा ‘टर्निङ’ काट्ने, उकालोमा रोक्ने र नक्कली रेलवे क्रसिङमा झ्याल खोलेर हेर्ने जस्ता जापानी मापदण्डका कडा नियमहरू पालना गर्नुपर्नेछ ।

नियम परिवर्तन भएसँगै नतिजामा ठूलो असर देखिएको छ । मिए (Mie) प्रिफेक्चरमा प्रयोगात्मक परीक्षाको उत्तीर्ण दर करिब २० प्रतिशतबाट घटेर १.८ प्रतिशतमा झरेको छ । त्यस्तै, आइची र सिजुओका प्रिफेक्चरमा लिखित परीक्षाको उत्तीर्ण दर औसत ९४ प्रतिशतबाट घटेर ३५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

‘लाइसेन्स टुरिजम’ रोक्ने प्रयास
विशेषगरी चीन र भियतनामजस्ता देशका नागरिकहरू जापान आएर सजिलै लाइसेन्स लिने र त्यसकै आधारमा जेनेभा महासन्धि अन्तर्गतको ‘इन्टरनेसनल ड्राइभिङ परमिट’ (IDP) बनाएर अन्य देशमा सवारी चलाउने प्रवृत्ति (लाइसेन्स टुरिजम) बढेको थियो । नयाँ नियमले यसलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

यसका साथै, पहिले होटलको ठेगाना प्रयोग गरेर पनि लाइसेन्स लिन सकिने व्यवस्था खारेज गर्दै अब अनिवार्य रूपमा बसोबासको प्रमाणपत्र (Juminhyo) पेश गर्नुपर्ने नियम बनाइएको छ । यद्यपि, जापानसँग पारस्परिक सम्झौता (Reciprocal Agreements) भएका युरोपेली देशहरू, अष्ट्रेलिया, क्यानडा र अमेरिकाका केही राज्यका नागरिकहरूलाई भने यो कडा परीक्षण प्रक्रियाबाट छुट दिइएको पुरानै व्यवस्था कायम रहनेछ ।

गत वर्ष करिब ७६,००० विदेशी लाइसेन्स रूपान्तरण गरिएकोमा, नयाँ र कडा प्रावधानपछि यो संख्यामा उल्लेख्य कमी आउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया