Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापानमा पहिलो पटक यात्रुहरूले पूर्ण रूपमा पल्टिएर (सुतेर) यात्रा गर्न मिल्ने रात्रि बस सेवा शनिबारबाट सञ्चालनमा आएको छ । पश्चिमी जापानको कोची प्रिफेक्चरमा आधारित बस सञ्चालक कम्पनी ‘कोची एकिमाए कान्को’ले टोकियोसम्मको करिब १० घण्टाको यात्रालाई थप आरामदायी बनाउने उद्देश्यले यो सेवा सुरु गरेको हो ।

रात्रि बसको लामो यात्रा शारीरिक रूपमा कष्टकर र थकाउने हुने यात्रुहरूको गुनासोलाई सम्बोधन गर्न कम्पनीले यो नयाँ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । सञ्चालकले यसलाई यातायातको क्षेत्रमा ‘मोबिलिटीको नयाँ स्वरूप’को संज्ञा दिएको छ ।

के छन् विशेषता ?
यो बसका सिटहरूलाई आवश्यकता अनुसार दुई तल्ले बेड (शय्या) मा परिणत गर्न सकिन्छ। प्रत्येक ‘फ्ल्याट बेड’को लम्बाइ करिब १८० सेन्टिमिटर र चौडाइ ५० सेन्टिमिटर रहेको छ । यात्रुको सुविधालाई ध्यानमा राख्दै हरेक बेडमा स्मार्टफोन चार्जर, गोपनीयताका लागि पर्दा (प्राइभेसी र्कर्टेन) र सुरक्षाका लागि ‘सेफ्टी रेल’हरू जडान गरिएका छन् ।

हालका लागि यो बस सेवा हप्ताको एकपटक सञ्चालन हुनेछ । बस शनिबार राति कोचीबाट र आइतबार राति टोकियोबाट प्रस्थान गर्नेछ । यात्राका क्रममा बस कोचीको छिमेकी तोकुसिमा प्रिफेक्चरको नारुतो सहरमा एकपटक रोकिनेछ । आगामी जनवरी महिनादेखि भने यो सेवालाई विस्तार गरी सातामा तीन देखि चार पटक सञ्चालन गरिने कम्पनीले जनाएको छ ।भाडा कति ?
बसको भाडा सिटको उपलब्धतामा निर्भर हुनेछ । सामान्यतया तल्लो बेडको मूल्य करिब १०,००० जापानी येन (करिब ६४ अमेरिकी डलर) तोकिएको छ भने माथिल्लो बेडको मूल्य १२,००० येन वा सोभन्दा बढी पर्नेछ ।

कम्पनीले गत मार्च महिनादेखि नै यसको परीक्षण सञ्चालन (ट्रायल) र सुधारका कामहरू गर्दै आएको थियो । आगामी वसन्त ऋतुदेखि अन्य बस सञ्चालकहरूलाई पनि यस्ता बेड-सिटहरू बिक्री गर्ने योजना कम्पनीले बनाएको छ, जसले गर्दा अन्य कम्पनीले पनि यस्तै सेवा विस्तार गर्न सकून् ।

यसैबीच, जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले ‘लाइ-फ्ल्याट’ सिट भएका बसहरूका लागि सुरक्षा निर्देशिका तयार पारिसकेको छ । भविष्यमा स्वचालित ड्राइभिङ (अटोनोमस ड्राइभिङ) प्रविधि व्यापक हुँदै जाँदा यस्तो सेवाको माग अझ बढ्ने मन्त्रालयको अपेक्षा छ ।

 

तपाईको प्रतिक्रिया