Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

टोकियो – जापान सरकारले घरजग्गा खरिद-बिक्रीको अभिलेखलाई थप व्यवस्थित र पारदर्शी बनाउन कडा नियम ल्याउने तयारी गरेको छ । विदेशी नागरिकहरूको घरजग्गा स्वामित्व ट्रयाक (निगरानी) गर्नका लागि अब सम्पत्ति दर्ता डाटाबेसमा खरिदकर्ताको ‘राष्ट्रियता’ अनिवार्य रूपमा समावेश गरिने भएको हो । 

जापानका डिजिटल रूपान्तरण मन्त्री हिसासी मात्सुमोतोले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सरकारको यो योजनाबारे जानकारी दिएका हुन् । हाल जापानमा कन्डोमिनियम (अपार्टमेन्ट) वा घरजग्गा खरिद गर्दा र दर्ता गर्दा आफ्नो राष्ट्रियता खुलाउनुपर्ने बाध्यात्मक व्यवस्था छैन । जापानको डिजिटल एजेन्सीले आर्थिक वर्ष २०२७ वा त्यसपछि यो नयाँ डाटाबेस प्रणाली लागू गर्ने लक्ष्य राखेको छ । मन्त्री मात्सुमोतोले भने, ‘हामीले यस्तो डाटाबेस विकास गर्न आवश्यक छ, जसले हामीलाई विदेशीहरूको घरजग्गा स्वामित्वको केन्द्रीकृत रूपमा अनुगमन गर्न सघाउ पुर्‍याओस् ।’

पछिल्लो समय विदेशी नागरिकहरूले जापानमा, विशेष गरी टोकियो लगायतका मुख्य सहरहरूमा, घरजग्गामा लगानी बढाउँदा मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो आउन थालेको छ । विदेशीहरूको यस्तो खरिदले स्थानीय बजारमा मूल्य वृद्धि गराएको चिन्ताका बीच सरकारले गैर-जापानी व्यक्तिहरूका लागि जग्गा प्राप्तिसम्बन्धी नियमहरूको पुनरावलोकन गरिरहेको छ । गत महिना भूमि मन्त्रालयले सार्वजनिक गरेको पहिलो सर्वेक्षण अनुसार, यस वर्षको जनवरीदेखि जुनसम्म टोकियोमा नयाँ कन्डोमिनियम खरिद गर्नेहरूमध्ये ३.० प्रतिशत जापानमा बसोबास नगर्ने व्यक्तिहरू थिए ।

यद्यपि, उक्त सर्वेक्षण न्याय मन्त्रालयको सम्पत्ति दर्ता तथ्यांकमा आधारित थियो, जसमा राष्ट्रियताको विवरण समावेश हुँदैन । ‘ओभरसिज रेसिडेन्ट्स’ (विदेशमा बस्नेहरू) को तथ्यांकमा जापानमै बसोबास गरिरहेका विदेशी नागरिक वा विदेशी कम्पनीका जापानी शाखाहरू समावेश नभएको बताइएको छ । सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै भूमि मन्त्री यासुसी कानेकोले भनेका थिए, ‘यो सर्वेक्षणबाट मात्रै विदेशी खरिदकर्ताहरूको अनुपात थोरै वा धेरै भनेर यकिन गर्न गाह्रो छ ।’

सरकारको यो नयाँ कदमले जापानको घरजग्गा बजारमा विदेशी लगानीको वास्तविक चित्र प्रष्ट पार्न र आवश्यक नीति निर्माण गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया