टोकियो – जापानमा चामलको खुद्रा मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । जापानको कृषि मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार, तीन सातायता पहिलो पटक चामलको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।
मन्त्रालयका अनुसार, गत आइतबार सकिएको सातामा जापानभरका करिब १ हजार सुपरमार्केटहरूमा चामलको औसत मूल्य अघिल्लो साताको तुलनामा २३ येनले बढेको छ । हाल ५ किलोग्राम चामलको औसत मूल्य ४,३३५ येन पुगेको छ । सन् २०२२ को मार्च महिनादेखि मन्त्रालयले यस्तो सर्वेक्षण सुरु गरेयताकै यो सबैभन्दा महँगो मूल्य हो ।
कुन चामलको भाउ कति ?
विशेषगरी भर्खरै उत्पादन भएको ‘ब्रान्ड राइस’को मूल्य ५ येनले बढेर ४,५५१ येन पुगेको छ । समीक्षा अवधिमा बिक्री भएको कुल चामलमध्ये ६८ प्रतिशत हिस्सा यस्तै ‘ब्रान्ड राइस’को रहेको थियो ।
त्यस्तै, तुलनात्मक रूपमा सस्तो मानिने ‘ब्लेन्डेड राइस’को मूल्यमा पनि ९२ येनको उछाल आउँदै ३,८७० येन कायम भएको छ । सन् २०२५ मा उत्पादित नयाँ धान/चामलको प्रयोग व्यापक हुन थालेसँगै मिश्रित चामल (ब्लेन्डेड राइस) को मूल्यमा यस्तो वृद्धि देखिएको बताइएको छ ।
सबैतिर बढ्यो मूल्य
मन्त्रालयको तथ्यांक बाहेक अन्य स्वतन्त्र सर्वेक्षणहरूले पनि मूल्यवृद्धिको पुष्टि गरेका छन् । करिब १,२०० सुपरमार्केटहरूलाई समेटेर गरिएको छुट्टै सर्वेक्षणले चामलको औसत मूल्य १८० येनले बढेर ३,८३५ येन पुगेको देखाएको छ ।
यसैगरी, औषधि पसललगायत करिब ६,००० खुद्रा पसलहरूमा गरिएको अर्को सर्वेक्षणमा पनि ९२ येनको वृद्धिसहित चामलको मूल्य ४,३१५ येन पुगेको पाइएको छ । यसले जापानका सानादेखि ठूला सबै प्रकारका खुद्रा बजारहरूमा चामलको मूल्य बढिरहेको सङ्केत गरेको छ ।








